ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ ।
सुशीला कार्की
प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने बताएकी छन् । दुई दिनअघि उनले हिमाली र उच्च पहाडी क्षेत्रमा अत्यधिक चिसो भए दुई चरणमा निर्वाचन गर्न सकिने बताएकी थिइन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिवाद गरेपछि हच्किँदै प्रधानमन्त्री कार्कीले बिहीबार आगामी निर्वाचन एकै चरणमा गर्ने बताएकी हुन् ।
भ्याइँदैन भने मिति सार । एकैदिन निर्वाचन हुनुपर्दछ । सोझै मतदानपछि मतगणना गरिनुपर्दछ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले
‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुईचोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ,’ उनले बिहीबार भनिन्, ‘मलाई लाग्छ, मौसम पनि राम्रो हुने छ । हामी सबैले मतदान गर्न पाउनुहुने छ । निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र आफ्नो घर जान्छौं ।’
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दुई चरणमा निर्वाचन गर्न सकिने भन्ने आफ्नै पूर्ववत् भनाइबाट पछि हट्दै एकै चरणमा निर्वाचन गर्ने बताएकी हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहानै प्रधानमन्त्री कार्कीले दुई चरणमा निर्वाचन गर्ने भन्दै दिएको अभिव्यक्तिको कडा प्रतिवाद गरेका थिए । एकै चरणमा गर्नुपर्ने भन्दै यदि २१ फागुनमा नभ्याइए निर्वाचन सार्न उनको सुझाव थियो । दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जिताउने सरकारी खेलको अर्थमा व्याख्या गरे ।
‘भ्याइँदैन भने मिति सार । एकैदिन निर्वाचन हुनुपर्दछ । सोझै मतदानपछि मतगणना गरिनुपर्दछ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन,’ उनले भने, ‘राज्य यसलाई जिताउने र यसलाई हराउने भन्ने पक्षमा लाग्नै हुँदैन । यदि राज्य यसलाई जिताउने यसलाई हराउने पक्षमा लाग्छ भने त्यो निर्वाचन हुँदैन, त्यसले गम्भीर अनिष्ट देशमा पैदा गर्ने छ ।’
प्रधानमन्त्री कार्कीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसमी प्रतिकूलताका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रभावित हुन सक्ने संकेत मंगलबार गरेकी थिइन् । उनले मौसम अत्यन्तै खराब भएमा मतदान गराउन वैकल्पिक उपाय अपनाउन सकिने विकल्प अघि सारेकी थिइन् । उनका अनुसार कठिन भूभागमा सवारीसाधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म पु¥याउने व्यवस्था गर्न सकिन्छ । यदि त्यो पनि सम्भव नभए, त्यस्ता स्थानमा अर्को चरणमा निर्वाचन गराउन सकिने विकल्प खुला रहेको उनको भनाइ थियो ।
‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ उनले मंगलबार नवलपरासीमा भनेकी थिइन् । यसप्रति कटाक्ष गर्दै ओलीले पोहोर हिउँदयता जन्मिएकालाई मात्रै हिमालमा हिउँ पर्छ भन्ने थाहा नहुने बताए ।
यसअघि बुधबार उनकै दलका सचिव महेश बस्नेतले पनि रास्वपालाई फाइदा पुग्नेगरी सरकारले दुई चरणमा निर्वाचन गर्न लागेको भन्दै आलोचना गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पनि आलोचना गर्दै एकै चरणमा निर्वाचन हुनुपर्ने बताए ।
निर्वाचन आयोगले तोकेको मितिमा र घोषित कार्यतालिकाअनुसार देशभर एकसाथ निर्वाचन हुनुपर्ने भन्दै उनले दुई चरणमा निर्वाचन गरिए निर्वाचनको निष्पक्षता, विश्वसनीयता र राजनीतिक स्थायित्वमा प्रश्न उठ्न सक्ने चेतावनी दिँदै आएका छन् ।
‘चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस्,’ संयोजक दाहालले भने । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन हुने भन्दै बिहीबार भने, ‘किन्तु परन्तु छैन भनेर सरकारको तर्फबाट र आयोगको तर्फबाट विश्वास दिलाइरहेका छौं हामीले ।’
आयोग आगामी २१ फागुनमा निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ । तर, हिमाली र उच्च पहाडी भेगमा चैतसम्मै हिउँ पर्ने गरेका कारण त्यस क्षेत्रमा निर्वाचन प्रभावित हुन सक्ने सम्भावना रहेको बताइन्छ ।
प्रधानमन्त्रीसँग ओलीको गुनासो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ निस्कनुअघि बिहीबार बालुवाटार पुगेर यसबारे प्रधानमन्त्री सुशीला कार्कीसँग पनि गुनासो गरेका छन् । सरकार, संवैधानिक निकाय र निर्वाचन आयोगको कामप्रति असन्तुष्ट जनाउँदै आएका ओलीले आफैं समय मागेर प्रधानमन्त्री कार्कीसँग भेटेका हुन् ।
यसपटक भने चिसोका कारण हिमाली क्षेत्रको निर्वाचन केही समय पर सार्नेबारे प्रधानमन्त्री कार्कीको अभिव्यक्तिको एमालेले विरोध गरेको छ । ओलीको दल एमालेले फागुन २१ गतेको निर्वाचन एकैपटक गर्नुपर्ने माग सुरु गरिसकेको छ ।
बिहीबार ओलीले बालुवाटारमा यही मुद्दा अघि सारेका थिए । भेटमा ओलीले सकेसम्म कुनै पनि क्षेत्रमा चुनाव रद्द नगर्न आग्रह गरेका थिए । ‘चुनाव एकै चरणमा होस् । कुनै कारण स्थगित हुँदा वा दोहोर्याएर चुनाव गर्नुपर्ने अवस्था आउँदा एउटा चुनाव र अर्को चुनावको बीचमा ग्याप धेरै नहोस्,’ ओलीले प्रधानमन्त्रीलाई भने ।
ओलीले मतदान सम्पन्न हुनासाथ तत्कालै मतगणना गर्ने व्यवस्था मिलाउन र मतदानस्थलको सुरक्षामा जोड दिन आग्रह गरेका थिए । बालुवाटारमा बिहीबार बिहान १० बजे भएको भेटमा ओलीसँगै एमाले नेता विष्णु रिमाल सहभागी थिए । यसैगरी संवादमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस सल्लाहकार राम रावल पनि सहभागी थिए ।
ओलीले निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका थिए । ‘नागरिकको सुरक्षा हुनुपर्छ । मतदानस्थलको पनि सुरक्षामा कमी नहोस् । मलाई निर्वाचनमा धाँधली हुनसक्ने आशंका छ । नेपाली सेनालाई निर्वाचनको अग्रभागमा नराखियोस्,’ ओलीले भनेका थिए । सरकारले झापामा प्रहरी प्रमुख सरुवा गरेकोमा पनि ओली रुष्ट छन् । प्रहरी एसपी राजन लिम्बूलाई हटाएर बसुन्धरा खड्कालाई झापाको सुरक्षा कमाण्ड दिएकोमा एमाले रुष्ट सुनिएको हो । यसैले पनि ओलीले सुरक्षाबारे जिज्ञासासमेत राखेका थिए ।
ओली आज आफ्नो चुनावी क्षेत्रमा निस्कँदै छन् । ‘भोलि म झापा जाँदै छु । एमाले ध्वंसमा विश्वास गर्दैन । शान्तिमा विश्वास गर्छ । झापामा अहिलेसम्म बुथ कब्जा भएको रेकर्ड पनि छैन । मेरो पक्षबाट शान्ति सुरक्षामा असर पर्ने गतिविधि हुँदैन,’ ओलीले भनेका थिए ।
प्रधानमन्त्री कार्कीले भने निर्वाचन दुई चरणमा हुने भन्ने विषयमा आफूले कुनै अभिव्यक्ति नदिएको बताएकी थिइन् । ‘बोल्दै नबोलेको कुरालाई बाहिर ल्याए । सरकारले फागुन २१ गतेबाहेकको मितिमा निर्वाचन गर्ने कल्पना नै गरेको छैन,’ प्रधानमन्त्री कार्कीले भनिन् । प्रधानमन्त्रीले एकैपटक निर्वाचन गर्ने प्रस्ट पारेपछि ओलीले कुराकानी छोट्याएका थिए ।