काठमाडौं - पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यासको आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिण्डर) ग्यासको माग छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनहरूमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।
भट्टले गत शनिबार ११८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिण्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार ११५ बुलेट अर्थात् १ लाख ४५ हजार सय सिलिण्डर र मंगलबार १३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिण्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।
लोडिङ भएका यी बुलेटहरूमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमा रहेको जानकारी दिँदै उनले आगामी चुनाव अवधिभर पनि यसैगरी नियमित रूपमा ग्यास आपूर्ति भइरहने दाबी गरे ।ग्यास आपूर्ति सहज र पर्याप्त रहेको भन्दै उनले अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिण्डर स्टक नगर्न उनले अनुरोध गरे ।
निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्नेतर्फ सचेत गराएको छ।