लन्डन- बेलायतका पूर्वराजकुमार एन्ड्रयूले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नुभएको छ । बिबिसीले मंगलबार यसबारे जानकारी दिएको हो । यौन अपराधी जेफ्री एपस्टीनसँगको सम्बन्धलाई लिएर उहाँले नयाँ छानविनको सामना गरिरहेको समयमा बसोबास परिवर्तन गरेका हुन् ।
अहिले एन्ड्रयू माउन्टब्याटन–विन्डसर भनेर चिनिने पूर्व शाही सदस्य अमेरिकी न्याय मन्त्रालय (डिओजे) ले एपस्टीनसँग सम्बन्धित कागजातहरूको पछिल्लो विमोचन गरेपछि थप दबाबमा पर्नुभएको छ । ती कागजातमा आफ्नो नाम उल्लेख भएपछि उहाँमाथि त्यसबारे स्पष्ट जवाफ दिन दबाब बढेको बताइएको छ ।
बिबिसीका अनुसार ६५ वर्षीय एन्ड्र्यु सोमबार रोयल लजबाट बाहिरिनुभएको हो । बकिङ्घम प्यालेसले भने एएफपीलाई उक्त रिपोर्टको औपचारिक पुष्टि गर्न अस्वीकार गरेको जनाएको छ । प्रसारणकर्ताका अनुसार एन्ड्र्यु विगत दुई दशकदेखि आफ्नी पूर्वपत्नी सारा फर्गुसनसँग विन्डसर क्यासल नजिकै रहेको आवासमा बस्दै आएको थियो । उनीहरूको दीर्घकालीन बसोबास त्यही क्षेत्रमा रहँदै आएको थियो ।
बिबिसीका अनुसार एन्ड्र्यु हाल नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा रहेको एक अस्थायी घरमा बसिरहेको छ । सन ट्याब्लोइडले भने उनले अन्ततः सोही एस्टेटभित्र रहेको मार्श फार्ममा स्थायी रूपमा सर्नुहुने उल्लेख गरेको छ, जहाँ हाल नवीकरणको काम भइरहेको छ । अर्थात् राजा चार्ल्स तृतीयका कान्छो भाइ एन्ड्रयूमाथि पछिल्लो समय दबाब थप बढेको छ । न्याय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका एपस्टीन फाइलहरूमा उनको नाम नयाँ सन्दर्भसहित देखा परेको छ ।
ती कागजातमा तत्कालीन राजकुमारले भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेक्नुभएको देखिने तस्बिरहरू समावेश रहेका छन् । साथै, एपस्टीनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गरेको इमेल आदानप्रदानसम्बन्धी विवरण पनि उल्लेख गरिएको छ । यी खुलासापछि प्रधानमन्त्री किर स्टार्मरले एन्ड्र्युले एपस्टीनका अपराधबारे के जानकारी राखेको थियो भन्ने विषयमा अमेरिकी कांग्रेससमक्ष गवाही दिन आग्रह गरेको छ ।
एपस्टीनकी अर्की पीडित महिलाले आफ्ना वकिलमार्फत अमेरिकी फाइनान्सियरले आफूलाई सन् २०१० मा रोयल लजमा एन्ड्रयूसँग यौन सम्बन्ध राख्न बेलायत पठाएको दाबी गरेका छन् ।एन्ड्रयूले भने कुनै पनि प्रकारको गलत काम गरेको आरोपलाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । उनले सन् २०२२ मा एपस्टीनसँग सम्बन्धित आरोप लगाएकी भर्जिनिया गिफ्रेलाई कुनै अपराध स्वीकार नगरी करोडौँ पाउन्डको सम्झौता रकम दिएको थियो ।
गिफ्रेले गत वर्ष आत्महत्या गरेका थिए । एन्ड्रयू सन् २०१९ मा एपस्टीनसँगको कथित सम्बन्धका कारण शाही कर्तव्यबाट पछि हटेका थिए । एपस्टीन नाबालिगहरू विरुद्धको यौन अपराधसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षामा रहँदै गर्दा जेलमै आत्महत्या गरी मृत फेला परेका थिए ।