निर्वाचनको मुखमा निपाह भाइरसको संक्रमणको जोखिम बढ्न थालेको छ । सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण भएको निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । मौसम परिवर्तन हुँदै गर्दा मानिसहरुमा रुघाखोकीको संक्रमण उच्च देखिन्छ । यही बेला भारतको पश्चिम बंगालमा निपाह देखिएसँगै नेपालमा यसको संक्रमण फैलिने जोखिम बढेको हो ।
चिकित्सकहरुका अनुसार निपाह एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया तीनदेखि १४ दिन ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरू देखा पर्छन् । केही व्यक्तिहरूले मस्तिष्क सुन्निने वा इन्सेफ्लाइटिस पनि अनुभव गर्ने जनाएको छ ।\
निद्रा लाग्ने, मुर्छा पर्न सक्ने र केही बिरामीहरू २४ देखि ४८ घण्टाभित्र कोमामा जानसक्ने पाइएको छ । यसको मृत्युदर ४०-७० प्रतिशत रहेको चिकित्सकहरुको भनाइ छ । निपाह भाइरस पहिलोपटक सन् १९९९ मा पहिचान भएको थियो । त्यतिबेला ३०० जना संक्रमित हुँदा १०० जनाको मृत्यु भएको थियो । पश्चिम बंगालमा सन् २००१ मा ६६ जनामा भाइरस पुष्टि हुँदा ४५ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा भारतको केरलामा भाइरस फैलिँदा १७ जनाको मृत्यु भयो ।
विश्व स्वास्थ्य संगठनले नेपालमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको जनाएको छ । तर पनि पश्चिम बंगाल नेपालको पूर्वी जिल्लाहरुमा जोडिने क्षेत्र हो । त्यसैले पनि नेपाल सरकारले निपाहबाट जोगिन विशेष सतर्कता अपनाउनै पर्छ । किनभने नेपाल अहिले चुनावी माहोलमा छ । चुनावी पर्वमा देशविदेशबाट मानिसहरु विनारोकटोक आइरहेका छन् । त्यसैले यसको संक्रमणबाट रोक्न सचेत बन्नै पर्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्णरूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको जानकारी गराएका छन् । फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन मन्त्रालयले अनुरोध गरेको छ । जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्न भनेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शंकास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, ‘आइसोलेसन’, रिपोर्टिङ तथा संक्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ । यसैले निपाह जोखिम नियन्त्रणमा सबै सचेतपूर्वक लागौं ।