सभापतिसँग कुराकानी भइसकेको छ । छिटो देउवालाई भेटेर फोटो राखेर देशभर एकताको सन्देश दिनुस् भनेका छौं ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस
- गगनले देउवासँग भेट्नका लागि समय मागे पनि समय पाइरहेका छैनन्
- पूर्व संस्थापनलाई विश्वप्रकाशको सन्देश- कुनै अलमलमा पर्नुपर्दैन, संसद् पुनस्र्थापना हुँदैन, फागुन २१ मै निर्वाचन हुन्छ
काठमाडौं- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई एकढिक्का देखाउन सभापति गगन थापाले पूर्वसंस्थापन पक्षसँग भेटको प्रयास जारी राखेका छन् । विशेष महाधिवेशनपछि पार्टीभित्र द्विविधा देखिएसँगै पूर्वसंस्थापन पक्षलाई मनाउन थापा लागेका हुन् ।
सुदूरपश्चिममा कमसे कम उहाँ (देउवा) निस्कनुभए हुन्छ भनेर साथ खोजिरहनुभएको छ । पार्टीलाई शून्यतामा त राख्नु भएन नि ! उहाँहरुले केही गर्नुहोला ।
खम्मबहादुर खाती
नेता, नेपाली कांग्रेस
फागुन २१ गतेको निर्वाचन नजिकिँदा पनि निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत नेताहरु मौन रहँदा कांग्रेस कार्यकर्ता अन्योलमा परेका छन् । जसलाई चिर्न सभापति थापाले धनुषा क्षेत्र नम्बर ४ पुगेर देउवासँग निरन्तर संवाद भइरहेको बताएका थिए । ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु । हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एकढिक्का हुन्छौं,’ शुक्रबार सभापति थापाले भनेका थिए ।
यद्यपि, देउवाको सचिवालयले भने गगनसँग कुनै सम्पर्क नभएको जानकारी दिएको छ । माघ १ गते विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगनलाई पूर्वसभापति देउवाले न त बधाई दिएका छन् न त कुनै संवाद नै । पुस २७ गते गगन पक्षले विशेष महाधिवेशन बोलाएपछि पुस ३० गते अन्तिमपटक गगन र विश्वप्रकाश शर्मा देउवा निवास पुगेका थिए ।
लगत्तै नेपाली कांग्रेसको पूर्वकार्यसमितिले दुई महामन्त्रीलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । यता गगन-विश्वले भने गगनको नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन ग¥यो । निर्वाचन आयोगले माघ २ गते गगन नेतृत्वको कांग्रेसलाई सदर गर्यो ।
यसको विरोधमा सर्वोच्च अदालत पुगेको देउवा कांग्रेसलाई अन्तरिम आदेश दिएन । योसँगै गगन नेतृत्वको केन्द्रीय कार्यसमिति माघ ९ गते केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरिसकेको छ । माघ ६ गते गगनको हस्ताक्षरमा कांग्रेसले टिकट वितरण गरिसकेको छ ।
यो अवस्थामा पूर्वसंस्थापन मौन बस्दा कांग्रेसमा ठूलो अन्तरघातको डर छ । यसैका लागि आफूहरुले सभापति थापालाई चाँडोभन्दा चाँडो देउवासँग भेटेर सकारात्मक सन्देश दिन आग्रह गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । ‘सभापतिसँग कुराकानी भइसकेको छ । छिटो देउवालाई भेटेर फोटो राखेर देशभर एकताको सन्देश दिनुस् भनेका छौं,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेस नयाँ कार्यसमितिले देउवासँग भेटको प्रयास गरे पनि भेट भने तय भइनसकेको देउवानिकट एक नेताले बताए । ‘अहिलेसम्म गगनजीहरुले भेट्नुभएको छैन । उहाँहरु भेट्छु भनेर लाग्नुभएको छ,’ ती नेताले भने । गगनले देउवासँग भेट्नका लागि समय मागे पनि समय पाइरहेका छैनन् । माघ ११ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्य खम्मबहादुर खातीले देउवालाई भेटेका थिए । उक्त भेटमा देउवाले निर्वाचनबारे खासै कुराकानी नगरेको तर सुदूरपश्चिम क्षेत्रमा उनको माग रहेको सुनाए ।
‘सुदूरपश्चिममा कमसे कम उहाँ निस्कनुभए हुन्छ भनेर साथ खोजिरहनुभएको छ । पार्टीलाई शून्यतामा त राख्नु भएन नि ! उहाँहरुले केही गर्नुहोला,’ खातीले भने । खाती देउवा सरकारमा छँदा महान्याधिवक्ता बनेका थिए । देउवाकै आशीर्वादले उनी अहिले राष्ट्रिय सभा सदस्य बनेका हुन् । देउवाको क्षेत्रमा यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मदेवार बनाएको छ । यो क्षेत्रमा देउवापक्षका नेताहरु महरको पक्षमा चुनावी माहोल बनाउन लागिसकेका छन् ।
महरले पनि निवर्तमान सभापति देउवा फागुन पहिलो हप्ता चुनावी कार्यक्रममा डडेलधुरा आइपुग्ने बताए । ‘फागुनमा उहाँ आउनुहुन्छ । मेरो कुराकानी भइसकेको छ,’ महरले भने । पूर्वसंस्थापन सर्वोच्च अदालतको आदेश कुरेर बसेको नेताहरु बताउँछन् । निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिएसँगै कांग्रेस पूर्वसंस्थापनले कांग्रेसको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर सर्वोच्चले देउवा पक्षलाई अन्तरिम आदेश दिएन । यतिमात्र हैन पूर्वसंस्थापन पक्षले संसद पुनस्र्थापनाको मागसमेत गर्दै आएको छ । आइतबारमात्र देउवानिकट नेता श्याम घिमिरेले यो मुद्दाको पेसी चाँडो तोक्न भन्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग डेलिगेसन जाने प्रयास गरेका थिए । अन्तिममा उक्त डेलिगेसन स्थगित भएको थियो । आज सार्वोच्चले यसको साधारण तारेख रहेको जनाएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भने प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै छनक नरहेको दाबी गरेका छन् । ‘कुनै अलमलमा पर्नुपर्दैन, संसद् पुनस्र्थापना हुँदैन, फागुन २१ मै निर्वाचन हुन्छ । अब ३२ दिन समय बाँकी छ, छलफल बहस गर्नको लागि अदालतसँग पर्याप्त समय छैन । हामीले यसो अनुमान लगाउँदा पनि फैसला फागुनको २४-२५ तिर आउँछ । जे आउँछ हामीले स्वीकार्नुपर्छ,’ झापा २ स्थित बिर्तामोडमा सोमबार पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने ।
उनले पार्टीमा केही समय द्वन्द्व भए पनि विशेष महाधिवेशनपछि पार्टी एकताबद्ध भएर चुनावमा होमिएको जिकिर गरे । सर्वोच्चबाट संसद पुनस्थापना नभए देउवासँगै टिकट नपाएका अरु नेताहरु पनि चुनावी क्षेत्र जाने चर्चा कांग्रेसभित्र रहेको छ । देउवा, पूर्णबहादुर खड्का, डा शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरुलाई आफ्नो क्षेत्रमा उत्रन पार्टीभित्र दबाब पर्न थालेको छ । सुर्खेत-१ बाट निर्वाचित हुँदै आएका खड्काको क्षेत्रमा उनका सहोदर भाइ विष्णुबहादुर खड्काले टिकट पाएका छन् ।
यसैगरी डा. शशांक कोइरालाको क्षेत्र नवलपुर-१ बाट बालकृष्ण घिमिरेलाई टिकट पाएका छन् । काठमाडौं-१ बाट निर्वाचित हुँदै आएका प्रकाशमान सिंहको क्षेत्रमा गगनले यसपटक प्रबल थापालाई टिकट दिएका छन् ।