मस्को- रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी क्युबामाथि आर्थिक र सैन्य दबाब ‘अस्वीकार्य’ भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने चेतावनी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले क्युबाविरूद्धको यो कदमको निन्दा गर्दै देशको अर्थतन्त्रलाई तहसनहस पार्ने प्रयास भनेका छन् । क्युबाका समकक्षी ब्रुनो रोड्रिगेजसँगको कुराकानीमा लाभरोभले ‘क्युबामाथि आर्थिक र सैन्य दबाबको अस्वीकार गर्ने बताएको थियो भने क्युवामा ऊर्जा आपूर्तिमा अवरोध गरिनु बेठिक हुने कुरा दोहोर्याएको छ। रुसी मन्त्रीले टापुमा ऊर्जा आपूर्तिमा अवरोधले सार्वभौम एक देशको आर्थिक र मानवीय अवस्थालाई गम्भीर रूपमा बिगार्ने खतरा रहेको बताएका छन् । उनले ‘क्युवालाई आवश्यक राजनीतिक र भौतिक सहयोग जारी राख्ने मस्कोको दृढ प्रतिबद्धता’ दोहोर्याए ।
एएफपीका क्युवा संवादाताका अनुसार क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने अमेरिकाको चेतावनीपछि हवानास्थित ग्यास खरिद् र भण्डारणका लागि स्टेशनहरूमा क्युबालीहरू लामो लाइनमा उभिने गरेका छन् । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि वासिङ्टन र हवानाबीचको तनाव पनि बढेको छ । सन् १९९१ मा सोभियत सङ्घको पतनपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गरिरहेको क्यारेबियन टापु क्युवामा पहिले नै बारम्बार प्रतिवन्धको सामना गरिरहेको छ ।