काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी-कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ । तपाईंले बाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिनुभएको हो वा होइन ? उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नु भएको छ वा छैन ? भनी उम्मेदवार थापालाई स्पष्टीकरण सोधिएको उनले बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । निर्वाचन उम्मेदवार लक्षित भ्रामक/अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको भनी स्पष्टीकरण सोधेको छ । उजुरीमा उल्लेख भएको बेहोरामा के कसो भएको हो ? यदि आचारसंहिताको उल्लिखित व्यवस्थाको प्रतिकूल हुनेगरी दलको निर्वाचन चिह्न प्रदर्शन गरेको प्रमाणित भएमा त्यस दलको जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ? यही विषयलाई लिएर आयोगले सोही क्षेत्रका उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीरण सोधेको छ ।
यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताए ।