काठमाडौं- निर्वाचन आयोगले निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल गरेकाे छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिइ मतदाता शिक्षाको प्रवर्द्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको हाे ।
आयोगले निर्वाचन आउन एक महिना बाँकी रहेको सन्दर्भमा निर्वाचनमय वातावरणको सिर्जना, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी एवं मितव्ययी रुपमा निर्वाचन सम्पन्न गराउन ती माध्यमसँग सहकार्यको योजना पनि मागेको छ । आयोगका निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले सञ्चारमाध्यमले आफ्नो नियमित जिम्मेवारीका अतिरिक्त निर्वाचनपूर्व, निर्वाचनका समय र निर्वाचनपश्चात्का अवधिमा तथ्यपूर्ण सूचना र समाचार सामग्री उत्पादन तथा प्रकाशन/प्रसारण गरेर निर्वाचनको राष्ट्रिय दायित्वलाई सफल तुल्याउनुपर्नेमा जोड दिए।
छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राईले राससले चौबिसै घण्टा समाचारीय सेवा प्रवाहमार्फत ६ सयभन्दा बढी सेवाग्राहीलाई राष्ट्रिय/अन्तरराष्ट्रिय समाचार, आलेख, विचार, अन्तर्वार्ता, मातृभाषा सेवालगायत सामग्री सम्प्रेषण गरिरहेको बताए । उनले निर्वाचन क्षेत्र विशेषका समग्र समाचार सङ्कलनका लागि निर्वाचन डेस्कको स्थापना गरी प्रभावकारी काम भइरहेको जानकारी दिए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले निर्वाचनका समयमा विज्ञापनमार्फत आचारसंहिताको उल्लङ्घन हुन सक्ने भएकाले त्यसका लागि बोर्डले नियमनको काम गरिरहेको जानकारी दिए । प्रेस काउन्सिल नेपालका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको कार्यान्वयनका लागि काउन्सिलले विशेष टोली बनाएर अनुगमन-कारावाहीका काम गरिहेको जानकारी दिए ।
यस्तै सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन/रेडियो नेपाल) का नायब महाप्रबन्धक राजकुमार थापा, गोरखापत्र संस्थानका निमित्त कार्यकारी सम्पादक नारद गौतमले आफ्ना संस्थाबाट निर्वाचनका विषयमा भइरहेका समाचारीय काम र भावी योजनाबारे अवगत गराएका थिए ।