काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको हाे ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भने ।
“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भने । उनले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए । राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, “गौतमबुद्धले भनेका थिए- शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।”
उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । “नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ,” उनले भने, “नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ ।” दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औँ वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक-आर्थिक विकास प्रयासमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौँदेखि जापानले गरेको सहयोगको उहाँले उच्च प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको छ भने । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो ।
“यस्तो अभियानमा ठूलो स्रोतसाधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर-आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्नेमा ध्यान केन्द्रित गरिएको छ,” राष्ट्रपति पौडेलले भने । उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी एवम् बाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे ।
उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनको भनाइ थियो ।
“नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र प्रमुख अन्तरराष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूलमध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्”, राष्ट्रपति पौडेलले भने । विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।