निर्वाचन नजिकिएसँगै दैनिक उपभोग्य सामान महँगिन थालेको छ । सबैभन्दो आवश्यक खाना पकाउने ग्यासको अभावसमेत हुन थालेको छ । निर्वाचनको मुखमा ग्यासको अभाव देखाउँदै व्यवसायीले कालोबजारीसमेत गर्न थालेका छन् । यसबाट विशेषगरी विद्यार्थीहरु र ज्यालादरीमा बसेकाहरु मार्कामा पर्न थालेका छन् ।
पछिल्लो दुई हप्ता काठमाडौं उपत्यकामा ग्यास नपाउने हल्ला चलेको छ भने व्यापारीले ग्यास लुकाउन थालेका छन् । महँगो मूल्य तिरेपछि भने उपभोक्तालाई व्यापारीले भान्सामै ग्यास ल्याउने गरेको देखिन्छ । देशले निर्वाचनमार्फत नयाँ सरकार बनाउने र सुशासन सुरु गराउने भनेर दलदेखि उम्मेदवार घरदैलोमा उत्रिँदा उपभोग्य वस्तुमा यसरी कालोबजारी सुरु हुनु आफैंमा सरकारप्रतिको विश्वास खस्कनु हो ।
जेन–जी विद्रोह सुशासनको माग गर्दै भएको थियो । भ्रष्टाचारको विरोध गर्दै भएको थियो । यही मागसहितको विद्रोहले दलको सरकार ढल्यो । विद्रोहको मागअनुसारको सरकार गठन भयो । यही सरकारले निर्वाचन गराउँदै छ । तर निर्वाचनको मुखमा ग्यासको अभाव देखिनु सुशासनमाथिकै प्रश्न हो । जनता सरकारप्रति आन्दोलित हुनुको मुख्य कारण हो- दैनिक जीवनयापनका विषय सहज नबनाउनु । ग्यास लिन महिनौं पर्खिनुपर्ने, हल्लाको पछि लागेर ग्यास थुपार्नु, लाइसेन्स छापिन महिनौं लाग्नु, पासपोर्ट लिन महिनौं कुर्न बाध्य हुनु, सामान्य सेवाका लागि पनि अनेकन झमेला झेल्नुपर्ने समस्याकै कारण व्यवस्थाविरुद्ध विद्रोह हुन्छ । महँगीविरुद्ध जनता सडकमा आउन बाध्य हुन्छन् ।
अहिले दलको सरकार नभएको कारण जनता मौन छन् । यही मौकामा व्यापारीले कालोबजारी गरेर जनताको मौलिक अधिकारमाथि खेलबाड गर्नु अति नै घृणित कदम हो । सरकारविरुद्ध आन्दोलन छेड्ने र प्रशासनविरुद्ध प्रश्न गर्ने निजी क्षेत्रले सर्वसाधारणलाई दुःख दिने नियतले कृत्रिम अभाव सिर्जना गर्नु सह्य विषय हैन । व्यापारीको यस्तै किसिमको व्यवहारले लगानीमैत्री वातावरण बन्नुपर्नेमा बिग्रने डर बढ्दै जान्छ ।
अर्को विषय उपभोक्ताले पनि ‘कागले कान लग्यो’ भन्दैमा कान नछामी कागकै पछि लाग्नु ठीक हुन्न । हिजोआज उपभोक्ता केही वस्तुको अभाव हुन लाग्यो भन्ने हल्ला सुन्नासाथ अनावश्यक रुपमा आफ्ना लागि अतिरिक्त सञ्चय गर्न थाल्छन् । जसले गर्दा पनि अभावको सिर्जना हुने देखिन्छ । यसैले आफू अतिरिक्त सञ्चय गर्न छाडेर व्यापारी र सरकारविरुद्ध खबरदारी गर्नेतिर लाग्नुपर्छ । नभए उपभोक्ताको यस्तै व्यवहारमा भावनात्मकरुपमा खेलेर व्यापारीले मौकाको फाइदा लुट्न पछि पर्दैनन् । यसबारे उपभोक्ता बेलैमा सचेत बनौं ।