काठमाडाैं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको छ। भारतमा निपाह भाइरसको संक्रमण बढेपछि महाशाखाले नेपालमा सम्भावित जोखिमलाई ध्यानमा राखेर निर्देशिका बनाएको हो।
निर्देशिका अनुसार ज्वरोसँगै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, चेतनास्तरमा परिवर्तन भएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरेको छ। संक्रमित जनावर, विशेषगरी फलफूल, चमेरासँगको सम्पर्क, काँचो खजुराको रस सेवन वा बंगलादेश, पश्चिम बंगाल तथा भारतको केरलाजस्ता निपाह प्रभावित क्षेत्रको यात्रा गरेको भएमा विशेष सतर्कता अपनाउन भनिएको छ।
निपा भाइरसको शंकास्पद नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गर्नुपर्ने, संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’ मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने व्यवस्था गरिएको छ।
महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विस्तृत अनुसन्धानका लागि जानकारी गराउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ। लक्षणसहित मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई ‘सम्भावित निपाह केस’ मानिने निर्देशिकामा उल्लेख गरिएको छ। निर्देशिका अनुसार शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसनसहित अस्पताल भर्ना गर्ने, स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्ने महाशाखाले जनाएको छ।
प्रयोगशालामा नमुना प्रशोधन गरी निपाह भाइरसको रियल–टाइम पीसीआर परीक्षण गर्नुपर्ने र परीक्षणमा नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिने निर्देशिकामा उल्लेख गरिएको छ। नकारात्मक नतिजा आएमा पिसाबको थप परीक्षण तथा अन्य सम्भावित रोग जस्तै लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसम्बन्धी संक्रमणको पनि परीक्षण गरिनेछ।