मुलुक निर्वाचनमा होमिँदै गर्दा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन भने कमजोर बनेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक कार्यप्रगति विवरणले यसलाई उजागर गरेको छ । अर्थको प्रगति विवरणअनुसार सरकारले पुँजीगत खर्च गर्नै नसकेको देखिन्छ । राजस्व संकलनमा पनि लक्ष्य र उपलब्धिबीच ठूलो खाडल देखिएको छ ।
मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४०.८२ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११.६६ प्रतिशत अर्थात् ४७ अर्ब ५४ करोड ४० लाख रुपैयाँ खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
गत आवको तुलनामा यस अवधिको कूल चालु खर्च ३.३५ प्रतिशतले बढ्दा पुँजीगत खर्च ४.८६ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३.२९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व संकलनमा पनि ठूलो चाप देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ४० अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा सात खर्ब ११ अर्ब २० करोड ७९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर यस अवधिमा पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख रुपैयाँबराबर मात्रै राजस्व उठेको छ । जुन लक्ष्यभन्दा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम हो ।

पुँजीगत खर्च र राजस्व संकलनमा मात्रै होइन, अन्य लक्ष्यहरुमा पनि अर्थ मन्त्रालयले लक्ष्य हासिल गर्न नसकेको देखिन्छ । हुन त जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारको मुख्य कार्यभार निर्वाचन सम्पन्न गरी निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु हो । त्यही भएर अन्य काममा भन्दा सरकारको बढी ध्यान निर्वाचनमै हुँदा लक्ष्यमा कमजोर देखिएको हुनसक्छ । यद्यपि, निर्वाचनसँगै सुशासन र विकासका कामलाई पनि चुस्त रुपमा अगाडि बढाउनु सरकारको दायित्व हो । त्यसैले बजेट कार्यान्वयनमा पनि सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । अन्यथा, विज्ञ अर्थमन्त्री हुँदा पनि नतिजा नदेखिँदा नकारात्मक सन्देशमात्रै जाने नभई मुलुकको अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने निश्चित छ ।