- पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा
- टक्कर दिँदै कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशीला चापागाईं, राप्रपाका भद्रप्रसाद (स्वागत) नेपाल र स्वतन्त्र उम्मेदवार प्रा.डा. युवराज संग्रौला
- नयाँ र असन्तुष्ट मतदाता निर्णायक बन्न सक्ने विश्लेषण
काठमाडौं- यसपटकको प्रतिनिधिसभा निर्वाचनमा झापा राष्ट्रिय राजनीतिको केन्द्रमा छ । झापा-५ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकापा एमालेका अध्यक्ष केपी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह, झापा-२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगर तथा झापा-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत चुनावी मैदानमा उत्रिँदा झापाले सिंगो देशवासीको ध्यान खिचेको छ ।
यी तीन क्षेत्रमध्ये यहाँ चुनावी चर्चा गर्न लागिएको भने झापा-२ को हो । कारण, झापा-२ मा यसपटकको चुनाव केवल उम्मेदवारको प्रतिस्पर्धामात्रै होइन, पुराना दल र वैकल्पिक राजनीतिक शक्ति भनिने नयाँ दलहरूबीचको जनमत परीक्षण हुँदै छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), रास्वपा र राप्रपाका उम्मेदवारहरूबीच बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना बढेको छ । यहाँ तीन/तीन जना प्रभावशाली पुरुष र महिला उम्मेदवारहरू आमनेसामने छन् । एमालेबाट पूर्वसभामुख देवराज घिमिरे, रास्वपाकी इन्दिरा राना मगर, नेकपाकी धर्मशीला चापागाईं, कांग्रेस नेत्री सरिता प्रसाईं, राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत) र स्वतन्त्र उम्मेदवार प्रा.डा. युवराज संग्रौला मैदानमा छन् ।
पहिलोपटक झापा-२ बाट उम्मेदवारी दिएकी रास्वपाकी मगर आक्रामक चुनावी प्रचारमा छिन् । सामाजिक क्षेत्र र उपसभामुखको भूमिकाबाट परिचित उनलाई नयाँ राजनीतिक शक्तिको प्रतिनिधिका रूपमा हेरिएको छ । तर, पार्टीभित्रै टिकट नपाएकी निशा डाँगी पक्षको असन्तुष्टि रानामगरका लागि चुनौती मानिएको छ । यद्यपि, युवा, स्वतन्त्र मतदाता र परिवर्तनपक्षधरहरू मगरतर्फ आकर्षित देखिन्छन् । मगरले प्रभावसँग भनिन्, ‘मलाई त अहिल्यै जितिसकेँ जस्तो लागेको छ । जनताले मलाई अपार माया गर्नुभएको छ ।’
यस क्षेत्रबाट २०७९ मा पूर्वसभामुख घिमिरे निर्वाचित भएका थिए । उनी पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् । यसपटक पनि उनै घिमिरे चुनावी मैदानमा छन् । तर, यसपालि जेन-जी विद्रोह र पार्टीभित्रको असन्तुष्टिले दलकै परम्परागत जनाधार कमजोर हुँदा उनका लागि त्यति सहज देखिँदैन । स्थानीय तहमा एमालेका पुराना कार्यकर्ताहरूले यसपटक मत फेर्ने संकेत गरेका छन् । त्यसले घिमिरेको जितलाई अनिश्चित बनाएको छ ।
तर, उनले पार्टी संगठनको मत रक्षा गरेरै भए पनि चुनाव जित्ने दाबी गरेका छन् । ‘मलाई जस्तै अरुलाई पनि सहज छैन । सहज त एकल उम्मेदवार हुँदा हुने हो,’ उनी भन्छन्, ‘अरु उम्मेदवारहरू पनि प्रतिस्पर्धामा आएपछि असहज हुन्छ नै तर पार्टीकै मत रक्षा गरेर चुनाव जित्ने विश्वास छ ।’
झापा-२ बाट २०६४ सालको पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीबाट नेत्री चापागाईं निर्वाचित भएकी थिइन् । यसपटक उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले जितको विरासत फर्काउने जिम्मासहित उम्मेदवार बनाएका छन् । उनी पनि मतदाताको घरदैलोमा पुगेर मत मागिरहेकी छन् ।
तर, हाल उनको दल नेकपाको सांगठनिक शक्ति कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा धर्मशीलाको जित कठिन देखिन्छ । भन्न त उनले पनि यसपटक आफू निर्वाचित हुने बताएकी छन् । अरु उम्मेदवारहरूभन्दा जनतामाझ आफ्नो लोकप्रियता उच्च भएको उनको दाबी छ ।
यही क्षेत्रबाट कांग्रेस उम्मेदवार बनेकी प्रसाईंले पार्टी पुनरुत्थानको अवसरका रूपमा झापा-२ लाई हेरेकी छन् । २०७० मा कांग्रेसले जितेको इतिहास दोहो¥याउने उनको संकल्प छ । त्यही संकल्पसहित उनी घरदैलोमा खटिएकी छन् । उनले पार्टीको नयाँ नेतृत्व गगन थापाप्रतिको आकर्षणले सकारात्मक माहोल बनेको दाबी गरिन् ।
तर, अघिल्लोपटक एमाले उम्मेदवार घिमिरेलाई आछुआछु पार्ने त्यसबेलाका स्वतन्त्र उम्मेदवार नेपाल राप्रपाबाट उम्मेदवार छन् । उनी पनि प्रभावशाली उम्मेदवार हुन् । पूर्वमहान्यायाधिवक्तासमेत भएका प्रा. डा. युवराज संग्रौला औद्योगिकीकरण र उत्पादनमूलक अर्थतन्त्रको नारासहित स्वतन्त्र उम्मेदवार बनेका छन् । उनीमाथि एमालेकै ‘डमी उम्मेदवार’ भएको आरोप छ । तर, स्थानीय राजनीतिक वृत्तमा उनको उपस्थितिले निर्वाचन समीकरण बदल्न सक्ने आँकलन गरिएको छ । संग्रौलाले एमाले, कांग्रेस र माओवादी तीनै दलको असन्तुष्ट मत काट्ने सम्भावना देखिन्छ ।
गत २०७९ को निर्वाचन परिणामलाई आधार मान्दा एमालेका घिमिरेले २६ हजार ७१६ मत ल्याएर विजयी हुँदा त्यसबेलाका स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४५५ मत पाएका थिए । यो झिनो मतान्तर हो । त्यसबेला प्रत्यक्षतर्फ तत्कालीन माओवादी तेस्रो र रास्वपा चौथो स्थानमा थियो । समानुपातिकमा भने रास्वपा दोस्रो दल बनेको थियो ।
यसपटक १३ हजार नयाँ मतदाता थपिएका छन् । कूल मतदाता एक लाख ४७ हजार ५२२ पुगेको छ । नयाँ मतदाता र असन्तुष्ट मतदाताको भूमिकाले झापा-२ को नतिजा पूर्णरूपमा उल्टिन सक्ने विश्लेषण भइरहेको छ ।