जनताले काम हेर्छन् । मैले भरतपुरमा विकास गरेर देखाएकी छु । कामकै आधारमा जनताले मलाई जिताउँछन् ।
रेणु दाहाल
नेकपा उम्मेदवार
- रेणु दाहाल र सोविता गौतम चुनावी भिडन्तमा उत्रिँदा देशको ध्यान चितवन-३ ले खिच्यो
- रेणु विकसित र समृद्ध भरतपुर महानगर बनाएको भन्दै लोकप्रिय, सोविता अघिल्लो संसद्मा प्रखर अभिव्यक्तिकलाका कारण लोकप्रिय
- चर्चामा रेणु र सोविता भए पनि कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका शंकर थपलिया र राप्रपाका दीपक थापा मगर पनि दाबेदार
काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चितवन-३ देशकै सबैभन्दा चासोको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । नेकपा नेत्री तथा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रभावशाली पूर्वसांसद सोविता गौतम चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्र यतिबेला स्पष्ट रूपमा ‘हट सिट’ भएको छ ।
रास्वपाको जनाधार कति बलियो छ भन्ने अघिल्लोपटकमै देखिएको हो । देशैभरि परिवर्तनको लहर छ, यहाँ पनि त्यसको असर पर्छ ।
सोविता गौतम
रास्वपा उम्मेदवार
रेणु दुई कार्यकाल भरतपुर महानगरपालिकाको मेयर भइसकेकी अनुभवी नेत्री हुन् । भरतपुरमा उनले अघि सारेको विकास मोडल, पूर्वाधार विस्तार र सहरी व्यवस्थापनका कारण उनी सफल मेयरको उदाहरणका रूपमा प्रस्तुत हुँदै आएकी छन् । उनका समर्थकहरू भन्छन्, ‘रेणु बोली होइन, कामले चिनिएकी नेत्री हुन् ।’
उता, सोविता विघटित प्रतिनिधिसभामा प्रखर अभिव्यक्ति र मुद्दामुखी प्रस्तुतिका कारण चर्चित रहिन् । २०७९ मा काठमाडौं-२ बाट निर्वाचित भएकी उनी यसपटक चितवन-३ झरेकी छन् । रास्वपाको बढ्दो जनआधार र वैकल्पिक राजनीतिको एजेण्डाले उनलाई बलियो चुनौतीका रूपमा उभ्याएको छ ।
चर्चा अरूको भए पनि जित कांग्रेसकै हुन्छ । म यहाँ पार्टीको विरासत फर्काउँछु, यो कांग्रेसको जनाधार क्षेत्र हो ।
टेकप्रसाद गुरुङ
कांग्रेस उम्मेदवार
चितवन-३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् भने माडी नगरपालिका पनि यही क्षेत्रमा समेटिएको छ । माडी माओवादीको प्रभाव रहेको क्षेत्र मानिन्छ, यद्यपि हालका मेयर एमालेबाट निर्वाचित छन् । यस क्षेत्रका वडाहरूमा कांग्रेस, एमाले र तत्कालीन माओवादीको मिश्रित प्रभाव देखिन्छ ।
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले ३५ हजार ६० मतसहित जित निकालेका थिए । कांग्रेस संस्थापनको समर्थन पाएका माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत पाए भने रास्वपाकी जिता बरालले १४ हजार ८४३ मत प्राप्त गरेकी थिइन् ।
तर, समानुपातिकतर्फको परिणामले चितवन-३ को वास्तविक जनमत फरक ढंगले देखायो । रास्वपाले २८ हजार ४०१ मतसहित पहिलो स्थान हासिल ग¥यो । प्रत्यक्षमा अग्रस्थानमा रहेको राप्रपा भने समानुपातिकमा १६ हजार ७५५ मतमै सीमित रह्यो । माओवादी केन्द्रले १६ हजार ९०, एमालेले १४ हजार ५२२ र कांग्रेसले १० हजार ५२४ मत पाउँदै पाँचौं स्थानमा चित्त बुझाउनुपर्यो ।
नेकपा उम्मेदवार रेणुले प्रभावसँग भनिन्, ‘जनताले काम हेर्छन् । मैले भरतपुरमा विकास गरेर देखाएकी छु । कामकै आधारमा जनताले मलाई जिताउँछन् ।’
रास्वपाकी सोविता भने अघिल्लो निर्वाचनमै पार्टी समानुपातिकमा पहिलो भएको स्मरण गराउँदै भन्छिन्, ‘रास्वपाको जनाधार कति बलियो छ भन्ने अघिल्लोपटकमै देखिएको हो । देशैभरि परिवर्तनको लहर छ, यहाँ पनि त्यसको असर पर्छ । चुनाव जित्नेमा ढुक्क छु ।’ कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङ पनि जितप्रति आशावादी छन् । उनले कांग्रेसको विरासत फर्काउने दाबी गरे । ‘चर्चा अरूको भए पनि जित कांग्रेसकै हुन्छ । म यहाँ पार्टीको विरासत फर्काउँछु, यो कांग्रेसको जनाधार क्षेत्र हो,’ उनले भने ।
एमालेले शंकर थपलिया र राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएका छन् । अन्य दलका पनि उम्मेदवार छन् । तर, चितवन-३ मा यसपटक विकासको अनुभव बोकेकी रेणु र परिवर्तनको आवाज बनेकी सोविताबीच मुख्य प्रतिस्पर्धा हुन सक्ने आकलन भइरहेको छ । अन्य दलका उम्मेदवारहरू पनि गणनामा छन्, तर चुनावी बहसको केन्द्रमा यी दुई नै छन् ।
यद्यपि, चितवन-३ स्थिर जनमत नभएको क्षेत्रका रूपमा चिनिन्छ । २०७४ मा एमालेको समर्थनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ४८ हजार २७६ मतसहित विजयी भएका थिए भने कांग्रेस समर्थित राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । २०६४ मा माओवादीका नारायणप्रसाद दाहाल विजयी भए, जो हाल राष्ट्रिय सभाका अध्यक्ष छन् । २०७० मा एमालेका कृष्णभक्त पोखरेल र २०५१ तथा २०५६ मा कांग्रेसका डा. गंगाधर लम्साल यहाँबाट निर्वाचित भएका थिए ।
२०६४ पछि कांग्रेसले यहाँ आफ्नो परम्परागत जनाधार फर्काउन सकेको छैन । बरु, माओवादी, राप्रपा, रास्वपा र एमालेले पालैपालो प्रभाव विस्तार गर्दै आएका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार चितवन-३ का सहरी मतदाता ‘हुरीसँग बहने’ प्रवृत्तिका छन् । यस्तो प्रवृत्तिको मत चुनावी एजेण्डा र माहोल जता बलियो, त्यतै सर्ने गर्छ । त्यसो हुनाले रेणुले जितको विरासत जोगाउँछिन् कि सोविताले चितवन-३ बाट पहिलो जित निकाल्छिन् ? कि कुनै अप्रत्यासित नतिजा आउने छ ? यसको अन्तिम उत्तर २१ फागुनपछि मतगणनाले दिने छ ।