खोटाङ- पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको शल्यक्रिया भएको हो ।
अस्पताल आवतजावत, उपचार, खानेबस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खस्ने समस्या महिलालाई निःशुल्क उपचार गराउन अस्पताल लगिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ महिलाको सफल शल्यक्रिया भएको छ, चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाएको छ । तीन जनालाई पुनः बोलाएको छ”, उनले भनिन् ।
निःशुल्क उपचार गर्ने व्यवस्थासहित बिरामी महिला र उनीहरुका एक-एक जना कुरुवालाई नगरपालिकाले बनेपा पुर्याएको थियो । अस्पताल लगिएकामध्ये दुई जनामा रक्तचाप र एक जना महिलामा मधुमेहका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका छन् । एघार वडा रहेको यो नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो ।
लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिला पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते सोही अस्पताल लगेको छ । बाँकी रहेका १८ जनालाई केही दिनभित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।
करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शीर मेमोरियल अस्पताल बनेपा लगेर उपचार गराउने गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए ।
शिविरमा करिब एक हजार २०० बढी महिलाले पाठेघर परीक्षण गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएको र उनीहरूलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिए ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुङ्गा गाउँपालिकाले शिर मेमोरियल अस्पताल लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् । पाठेघरसम्बन्धी बिरामी महिलासहित कुरुवाका लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले निःशुल्क व्यवस्थापन गर्दै आएका छन् ।