पर्यटन क्षेत्रमा हिमाल आरोहण नेपालको निकै आकर्षक क्षेत्र हो । आकाशबाट होस या पैदलै, हिमाल हेर्न नेपाल आउने पर्यटकको संख्या हजारौं हुन्छ । कोही हिमाल आरोहण गर्न आइपुग्छन् भने कोही छेउबाट हिमाल हेर्नमात्र पनि पदयात्रामा पुग्छन् । धेरैजसो पर्यटन व्यवसायी हिमाल हेर्न आउने पर्यटकमै निर्भर छन् । हिमाल आरोहण गाइड, पदयात्रा गाइड, हिमाली क्षेत्रका होटल पनि यही पर्यटनमा निर्भर छ । यसैगरी हवाई क्षेत्रको ठूलो हिस्सा पनि यही क्षेत्रको पर्यटकले धानेको छ ।
हिमाली क्षेत्रमा पर्यटनको जति अवसर छ, जोखिम उत्तिकै छ । हाइ अल्टिच्युडका कारण लेक लाग्ने, बिरामी हुने, विभिन्न दुर्घटना हुने घटना सामान्य हुन्छन् । यस्ता विपद्बाट बच्न पर्वतारोहण कम्पनी, ट्रेकिङ कम्पनीले पर्यटकका लागि स्वास्थ्य कार्यक्रमहरु बनाएका हुन्छन् । जसमा बिमादेखि उद्धारका कार्यक्रम पनि समावेश गरिन्छ ।
नियमितरुपमा विपद्मा परेका पर्यटकको उद्धारमा खट्ने कम्पनीहरुले विगत केही वर्षदेखि ‘फेक रेस्क्यु’ अर्थात् नक्कली उद्धारसमेत गर्दै आएको खुलेको छ । यसमा ट्रेकिङ तथा ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, उड्डयन कम्पनी र अस्पतालहरुकोसमेत मिलेमतो भएको देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै गरेको अनुसन्धानमा एक हजार २४८ जनाको उद्धार गर्दा १७१ जनाको नक्कली उद्धार गरेको भेटिएको जनायो ।
छ वटा विभिन्न कम्पनीले गरेको यस्तो उद्धारमा १० करोड रुपैयाँभन्दा बढी अमेरिकी डलर बिमा दाबी गरेको अनुसन्धानबाट खुलेको छ । कम्पनीहरुले ट्रेकिङ गाइडलगायतको मिलेमतोमा बिरामी हुनेखालको खाना खुवाउने, हाई अल्टिच्युड लाग्न नदिने भन्दै विभिन्न औषधि खुवाउने र बिरामी परेपछि उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने गरेको खुलेको छ ।
हेलिकप्टरबाट निकै महँगो भाडा लिएर उद्धार गर्ने र त्यसपछि अस्पतालमा राखेर महँगो बिल तयार पारेर बिमा कम्पनीबाट रकम भुक्तानी लिने गरिएको भेटिएको छ । उपचारका क्रममा गम्भीर समस्या भएको देखाएर अस्पतालहरूले महँगो बिल तयार पार्ने र भुक्तानीका लागि बिमा कम्पनीसँग दाबी गर्छन् । यी सबै धन्दा गिरोहमार्फत चलाइने र यस्तो धन्दाले नेपालको पर्यटन क्षेत्रकै छवि बिगारेको देखिएको छ ।
कुनै पनि सेवामा ठगी भएमा त्यसको प्रभाव नराम्रो हुन्छ नै । कुनै ग्राहकले आफू ठगेको महसुस गरेमा त्यो अनुभव आफ्ना साथीभाइदेखि अरूलाई पनि सुनाउने गर्छन् । जसले गर्दा हिमाल देखाएर धानेको नेपालको पर्यटन क्षेत्र ओरालो लाग्ने निश्चित छ । त्यसैले सरकारले यस्तो विषयमा अनुसन्धान बढाएर सुधारको आशा देखाएको छ । चाँडै यस्ताखाले धन्दाको अन्त्य गरेर पर्यटन क्षेत्र धुमिल बनाउन खोज्नेहरुलाई कडा कारबाही गरोस् । फेक रेस्क्युको धन्दाबाट मुलुकको पर्यटन क्षेत्र जोगाऊ ।