- सर्लाही निस्कनुअघि गगनको सन्देश- म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु । म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु
- सर्लाही पुगेपछि गगनले भने- म सर्लाहीको बेटा हुने कोसिस गर्न आएको छु । आजदेखि म तपाईंको भएको छु । जब सर्लाही प्रवेश गरेँ, यहाँको जमिनलाई ढोगेँ ।
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही पुगेर मधेसको गाथा गाएका छन् । सोमबार सर्लाही पुगेका थापाले सर्लाहीका मतदातासँग जोडिन मधेसको गाथा गाएका हुन् ।
काठमाडौं-४ निर्वाचन क्षेत्र छाडेर सर्लाहीको क्षेत्र नम्बर ४ रोजेका गगनले सर्लाही प्रवेश गर्नासाथ त्यहाँको जमिनलाई ढोगेको बताए । ‘म सर्लाहीको बेटा हुने कोसिस गर्न आएको छु । आजदेखि म तपाईंको भएको छु । जब सर्लाही प्रवेश गरेँ, यहाँको जमिनलाई ढोगें,’ गगनले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित सभामा भने ।
काठमाडौं छाड्नुअघि गगनले आफूले सर्लाही-४ जान लागेको भन्दै भिडियो सन्देशसमेत जारी गरेका थिए । ‘म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु । म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु,’ गगनले भनेका थिए ।
पूर्णरुपमा नेपाली बन्न आफू मधेस आइपुगेको गगनको दाबी थियो । ‘म काठमाडौंमा जन्मेको हुर्केको हुनाले यहाँको सुख दुःख थाहा पाएँ । जब प्रदीप गिरीको संगत गरेँ । जबसम्म मधेसमा गएर समर्पित गर्दिनँ, समाहित गर्दिनँ, मैले आफूभित्र मधेस र मधेसभित्र आफूलाई ल्याउन सक्दिनँ । तबसम्म म पूर्णरुपमा नेपाली बन्न सक्दिनँ,’ सर्लाही पुगेर गगनले भने ।
मधेसमा सर्वाधिक प्रयोगमा आउने कुर्थासुरुवालमा सजिएका गगनले मधेसले दिएको राजनीतिक योगदान देशले नसम्झेको तर्कसमेत अघि सारे । केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा नै मधेस आउँछु र यहाँका जनताको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको स्मरण गर्दै थापाले मधेसप्रति आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्याए ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेसले सिंगो नेपालमा पाउनुपर्ने मान सम्मान किन पाएन ?,’ यस्तो प्रश्न आफूले पटक-पटक उठाएको गगनको भनाइ थियो । यसको जवाफ खोज्ने र समाधान दिनेगरी आफू सर्लाही-४ को चुनावी मैदानमा आइपुगेको उनको तर्क थियो ।
उनले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेसको भूमिका अपरिहार्य रहेको बताए । ‘मधेसले कांग्रेसलाई लगाएको गुण, मधेसले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेसले सिंगो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु । मैले पढेर र बुझेर आएको हुँ,’ सभापति थापाले भने ।
सभालाई सम्बोधन गर्दै आफू मधेसको सम्मान देखेर आफू उत्साहित भएको बताए । सभापति थापाले मधेसको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै गणित, विज्ञान र अंग्रेजी विषयमा मधेसका विद्यार्थी कमजोर हुँदै गएको उल्लेख गरे । यसको समाधान खोज्ने प्रतिबद्धता जनाउँदै उनले मधेसमा गणित, विज्ञान र अंग्रेजी शिक्षामा सुधार आवश्यक रहेको बताए ।
‘कुनै बेला मधेसका शिक्षकविना पहाड र हिमालमा गणित-विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इञ्जिनियर बन्न सक्नुभयो ।’तर अहिले अवस्था उल्टिएको उल्लेख गर्दै उनले भने, ‘इतिहास बोकेको मधेसमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ । हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ । उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु ।’
सभापति थापाले अबको १२-१५ वर्षमा नेपालको आम्दानीको मुख्य स्रोत सूचना प्रविधि हुने उल्लेख गर्दै त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार आवश्यक रहेको बताए । यसका लागि आफ्नो टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहेको जनाए ।
सभापति थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का जनताको समस्या सुनुवाइ र समाधानका लागि काठमाडौंमा क्षेत्रीय कार्यालय स्थापना गर्ने घोषणासमेत गरे । ‘अब निर्वाचन क्षेत्रका जनताले आफ्ना समस्या राख्न प्रतिनिधि खोज्दै भौतारिनु पर्दैन,’ उनले भने । कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । ‘अबकी बार, गगन सरकार’ नाराका साथ गगन सर्लाही-४ मा उत्रेका हुन् ।
सर्लाहीको ‘ग्राउण्ड’मा गगनलाई चुनौती
अघिल्लो निर्वाचनमा काठमाडौं-४ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिल्दा नेपाली कांग्रेसका गगन थापाले २१ हजार ३०४ मत पाएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गगनलाई जिताउन उम्मेदवार उठाएको थिएन ।
गगन अघिल्लो निर्वाचनमा नै सर्लाही-४ मा उम्मेदवार बन्ने तयारीमा रहेकामा अन्तिम समयमा रोकिएका थिए । यसपटक काठमाडौं-४ मा ढुक्क नदेखिएपछि उनी सर्लाही-४ पुगेका हुन् । गगनले अहिले रोजेको क्षेत्रलाई कांग्रेसको गढ मानिन्छ । यो क्षेत्रमा कांग्रेसबाट वीरेन्द्र सिंह टिकटका आकांक्षी थिए । उनी हाल मधेस प्रदेशसभा सदस्य छन् । अघिल्लो निर्वाचनमा सर्लाही-४ मा कांग्रेसका बागी उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए । सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका नगेन्द्रकुमार रायले १८ हजार २५२ मत पाएका थिए ।
सर्लाही-४ मा २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि अमरेश नै निर्वाचित भएका थिए । त्यतिखेर उनले कांग्रेसबाट २९ हजार ६०० मत ल्याएका थिए । निकटतम् प्रतिद्वन्द्वी राजपाका राकेश मिश्रले २८ हजार १३६ मत पाएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र डा. आरजु राणाविरुद्ध छेडखानीमा उत्रेका अमरेशले त्यतिबेला एकाएक आफ्नो पक्षमा माहोल बनाएका थिए । अमरेश यसपटक रास्वपाबाट उम्मेदवार बनेका छन् ।
गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेको र अहिले रास्वपाकोतर्फबाट मैदानमा उत्रिएकाले अमरेशलाई कांग्रेसकै नेता कार्यकर्ताले बलियो उम्मेदवारका रुपमा हेरेका छन् । त्यसैले गगन र अमरेशबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।