जलेश्वर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं-१ बाट एक, क्षेत्र नं-२ बाट एक, क्षेत्र नं-३ बाट दुई र क्षेत्र नं-४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका हुन् ।
जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन्। उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन्। त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दै छन्।
त्यस्तै क्षेत्र नं-३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन् । यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने रिजवानले नेपाल सङ्घीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दै छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा रहेका छन् । पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन्। यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा छन्।