निर्वाचन आयोगले दलहरुलाई निर्वाचन आचारसंहिता पालनाका लागि निरन्तर आग्रह गरिहेको देखिन्छ । तर आचारसंहिता उल्लंघन गर्न दलहरुको तछाडमछाड नै देखिन्छ । खासमा माघ ४ गतेअघि राजनीतिक दलले कुनै किसिमको आमसभा गर्न पाइँदैन । तर ठूला दलकै नेताहरुले सहरी क्षेत्रको पार्टी प्यालेसहरुमा मतदातासँग परिचयात्मक कार्यक्रम भन्दै मत माग्न थालेका छन् । यतिमात्र हैन उनीहरुले भाषण गरी दैनिक आचारसंहिता उल्लंघन गर्न थालेका छन् ।
उम्मेदवारी मनोनयनकै दिनदेखि उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्न थालेको देखिए पनि आयोग भने टुलुटुलु हेर्ने शिवाय केही गरेको देखिँदैन । निर्वाचन आचारसंहिताको परिच्छेद–४ मा ‘राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठनहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्थामा ‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारसम्बन्धी’ काम गर्न पाउने व्यवस्था छ । तर दलहरुले यो व्यवस्थालाई ठाडै उल्लंघन गरेका छन् ।
सबैभन्दा ठूलो दल मानिने नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आमसभा गरे । जहाँ उनले आफूलाई मत मागे । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मत माग्दै सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई सम्बोधन गरिएको कार्ड छ्यापछ्याप्ती बनाएका छन् । यसरी आचारसंहिता उल्लंघन गर्नेमा थापा र ओलीमात्रै छैनन्, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरु पनि छन् ।
आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधिरहेको निर्वाचन आयोगले दाबी गरेको छ । तर आयोगको अनुगमन संयन्त्र कमजोर देखिएको छ । यसले गर्दा दिनप्रतिनिधि आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । यो आयोगका लागि चुनौतीको विषय हो । आयोगले नगर भन्ने तर दलहरुले नटेर्ने, यस्तो हिसाबले निर्वाचनको स्वच्छतामथि प्रश्न उठ्छ ।
निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा एक दललेमात्र कब्जा गर्न पाउँदैन । दलहरुले यसरी नै आचारसंहिता उल्लंघन गर्दै जाने हो भने मतदानका दिन यस्ताखाले उच्छृंखल घटना पनि हुन सक्छन् । त्यसैले दलहरुलाई अहिलेबाटै नैतिक बन्धनमा बाँध्न आयोगले विशेष पहल गर्नैपर्छ । यसो गर्न सकेमात्र स्वच्छ निर्वाचनको परिकल्पना गर्न सकिन्छ । नभए अटेरी दल र अटेरी उम्मेदवारले निर्वाचन नै स्थगित हुनेसम्मको वातावरण तयार पार्न सक्ने खतरा बढ्छ । त्यसैले आजैबाट आयोगले आचारसंहिता पालनामा कडाइ गरोस् । आजको अनुशासित उम्मेदवारमात्र भोलिको जिम्मेवार जनप्रतिनिधि बन्न सक्छ ।