कहाँबाट को-को निर्वाचित भए ?
कोशी - रोशनी मेचे र सोमनाथ पोर्तेल (एमाले)
सुनिलबहादुर थापा (कांग्रेस)
मधेस - रेखाकुमारी झा (एमाले)
धर्मेन्द्र पासवान र रञ्जित कर्ण (कांग्रेस)
महन्थ ठाकुर (जसपा)
बागमती - गीता देवकोटा (कांग्रेस)
प्रेमप्रसाद दंगाल (एमाले)
गण्डकी - सम्झना देवकोटा (एमाले)
जगत तिमिल्सिना (कांग्रेस)
लुम्बिनी - वासुदेव घिमिरे (कांग्रेस)
चन्द्रबहादुर केसी (एमाले)
कर्णाली - मीनासिंह रखाल (एमाले)
ललितजंग शाही (कांग्रेस)
सुदूरपश्चिम - लिलाकुमारी भण्डारी (एमाले)
खम्मबहादुर खाती (कांग्रेस)
राष्ट्रिय सभामा दलीय उपस्थिति
- राजनीतिक दल सांसद संख्या
- नेपाली कांग्रेस २५
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७
- नेकपा एमाले १०
- जनता समाजवादी पार्टी, नेपाल २
- लोकतान्त्रिक समाजवादी पार्टी १
- राष्ट्रिय जनमोर्चा १
- मनोनीत ३
काठमाडौं- राष्ट्रिय सभामा १८ नयाँ सदस्य निर्वाचित भएका छन् । आइतबार सातवटै प्रदेशमा भएको निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको गठबन्धनले क्लिनस्वीप गरेको छ ।
आइतबार कोशी प्रदेशबाट एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । त्यहाँ कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण तथा जसपा नेपालको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुर निर्वाचित भएका छन् । जसपा र लोसपाबीच एकीकरण भएपछि ठाकुर उम्मेदवार बनेका थिए ।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भए । एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी तथा कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्य बनेका छन् । विपक्षमा एक्लै चुनावी मैदानमा उत्रिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सबै उम्मेदवार पराजित भए ।
नवनिर्वाचित सदस्य नयाँदेखि अनुभवी
निर्वाचित १८ मध्ये चार जना सांसद महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही तल्लो सदन भनिने प्रतिनिधिसभाको अनुभव बोकेर माथिल्लो सदनमा उक्लिएका अनुहार हुन् । ८३ वर्षीय महन्थ राजनीतिक जीवनको उत्तराद्र्धमा राष्ट्रिय सभामा पुगे । दशकौं लामो संसदीय यात्रापछि प्रतिनिधिसभाबाट राष्ट्रिय सभातर्फ सरेका ठाकुरको उपस्थितिले राष्ट्रिय सभाको गरिमा बढाउने ठानिएको छ ।
झाँक्री भने फरक पृष्ठभूमिबाट आएकी नेता हुन् । विद्यार्थी राजनीतिबाट उदायकी झाँक्री प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि राष्ट्रिय सभामार्फत पुनः संसदीय राजनीतिमा फर्किएकी छन् । ललितजंग शाही संविधान निर्माण प्रक्रियामा सहभागी अनुभवी नेता हुन् । संविधानसभा सदस्य रहँदै उनले २०७२ को संविधान निर्माणमा भूमिका निर्वाह गरेका थिए ।
यसपटकको निर्वाचनबाट सीमान्तकृत र अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि भएको छ । कोशी प्रदेशबाट निर्वाचित रोशनी मेचे उनको समुदायबाट राष्ट्रिय सभामा पुग्ने पहिलो अनुहार हो । मेचे समुदायका मुद्दा अब संघीय संसद्को माथिल्लो सदनमा औपचारिकरूपमा उठ्ने बाटो खुलेको छ । समाजशास्त्र र कानुन अध्ययन गरेकी रोशनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी थिइन् ।
यता मधेस प्रदेशबाट दलित अधिकारकर्मी धमेन्द्र पासवान, अल्पसंख्यक कोटाबाट रञ्जित कर्ण र महिलातर्फ एमालेकी रेखा झा निर्वाचित भएका छन् । दलित, महिला र अल्पसंख्यक समुदायको उपस्थिति यसपटकको राष्ट्रिय सभामा तुलनात्मक रूपमा बलियो देखिएको छ ।
यसबाहेक निर्वाचित युवा सांसदहरूका कारण राष्ट्रिय सभालाई अब ‘ज्येष्ठहरूको सभा’ भन्ने धारणा तोडिने देखिएको छ । चुनावबाट सोम पोर्तेलजस्ता युवा प्रतिनिधि राष्ट्रिय सभा आएका छन् । कोशी प्रदेशबाट दलित क्लस्टरअन्तर्गत निर्वाचित पोर्तेल युवाको आवाजलाई राष्ट्रिय सभामा पु¥याउने बताउँछन् । स्थानीय तहदेखि जिल्ला समन्वय समिति प्रमुखसम्मको अनुभव बटुलेका पोर्तेल राष्ट्रिय सभामा युवा र दलित दुवैको मुद्दा जोड्ने सेतु बन्ने दाबी गर्छन् ।
‘मसँग स्थानीय तहहुँदै जिल्ला समन्वय समिति हाँकेको अनुभव छ । त्यो अनुभवसँगकै देशमा वर्षौंदेखि हेपिएका दलित समुदायको आवाज राष्ट्रिय सभामा बन्छु,’ उनले प्रभावसँग भने । राष्ट्रिय सभामा बागमती प्रदेशबाट निर्वाचित डा. प्रेम दंगाल किसान आन्दोलन र खाद्य सम्प्रभुताका मुद्दामा परिचित नाम हुन् ।
कांग्रेसकी गीता देवकोटा मौरीपालक किसानको मुद्दाबाट राष्ट्रिय राजनीतिमा उक्लिएकी हुन् । गण्डकी प्रदेशबाट निर्वाचित जगत तिमिल्सिना विश्वविद्यालयमा अध्यापन गर्दै आएका प्राध्यापक हुन् । पढाउँदा पढाउँदै सांसद निर्वाचित तिमिल्सिनाले ज्ञान र नीति निर्माणबीचको दूरी घटाउने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित सांसदहरूको कार्यकाल आगामी २१ फागुनदेखि सुरु हुने छ ।
कांग्रेस बन्यो पहिलो शक्ति
आइतबार सम्पन्न निर्वाचनको परिणामले राष्ट्रिय सभाको शक्ति सन्तुलन बदलेको छ । निर्वाचनबाट कांग्रेस दोस्रो शक्तिबाट पहिलो भएको छ । राष्ट्रिय सभामा पहिलो रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोस्रोमा झरेको छ । नेकपाले आठ सिट गुमाउँदा दोस्रोमा खुम्चिनुपरेको हो । नेकपा एमाले भने तेस्रो नै कायम भएको छ ।
आइतबार १९ मध्ये १८ सदस्यका लागि निर्वाचन भएकोमा कांग्रेस, एमाले र जसपाको गठबन्धनले एकलौटी जित निकाल्यो । कांग्रेसले नौ, एमालेले आठ र जसपाले एक सिट जितेको हो । यससँगै कांग्रेस २५ सिटसहित राष्ट्रिय सभामा पहिलो दल बनेको छ । कांग्रेसको कुनै सदस्यको पदावधि सकिन लागेको छैन र कांग्रेसले जति जित्यो, सबै थपिएको हो ।
एमालेका १० मध्ये आठ जनाको पदावधि सकिएको थियो । इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसीको पदावधि सकिन लागेको छ । तर, आइतबार भएको निर्वाचनबाट एमालेले आठवटै सिटमा जितेको छ । यससँगै एमालेले आफ्नो १० सिट जोगाएको छ ।
तर, तत्कालीन माओवादी केन्द्रका १७ र एकीकृत समाजवादीका आठसहित दुई दल एकीकरणपछि बनेको नेकपाको कूल सांसद २५ रहेका थिए । त्यसमध्ये पदावधि सकिएका आठ जना नै नेकपाले गुमाएको हो । नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो ।
यस्तै, तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट पदावधि सकिएका एक/एक जना थिए । उनीहरू हुन्- मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंह । यी दुई जनाको रिक्त हुने सिटमा महन्थ ठाकुर निर्वाचित भएका हुन् ।