काठमाडाैं - २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)को अवसरमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएकाे छ । ‘२५औं सशस्त्र प्रहरी दिवस २०८२’ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ ९ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको हाे ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई यहाँसम्म पुर्याउन अग्रजहरुको त्याग, बलिदान र समर्पण भावको उच्च सम्मान गर्दै कर्तव्य पालनाको सिलसिलामा प्राणोत्सर्ग गर्नुहुने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते भई उपचारत सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उहाँले स्थापना दिवसले विगतको कामकारवाहीहरुको समिक्षा गरी आफुलाई थप परिस्कृत, नवितम् सोच र विचारकासाथ अघि बढ्ने सुनौलो अवसर मिल्ने तथा आगामी दिनमा समेत नयाँ जोश, जागर, हौसलाकासाथ जिम्मेवारी र जवाफदेहिताको भावनालाई सुदृढ गर्दै संगठनको लक्ष्य प्राप्तिमा अगाडी बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु नैतिक रुपमा बलियो भएमा मात्र संगठन बलियो हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दैै अनुशासित, इमान्दारीता, व्यावसायिकता, कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारीमा लाग्न सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले संगठनलाई प्राप्त जिम्मेवारीहरुलाई आवश्यकता र अपरिहार्यताको आधारमा अध्ययन गरी कार्यादेशहरुलाई BIRD को अवधारणा अनुरुप सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापन जोड दिदै आईरहेको बताउनुहुँदै आगामी फागुन २१ गते हुन गईरहेको निर्वाचन स्वच्छ निश्पक्ष भएरहित बातावरणमा सम्पन्न गराउन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु उच्च मनोवलकासाथ परिचालन हुन निर्देशन दिएका छन् ।
महानिरीक्षक अर्यालले विगतमा भएका सांगठानिक तथा रचनात्मक कार्यलाई रजत महोत्सवको अवसरमा प्रस्तुत गर्न पाउँदा सान्दर्भिक ठानेको बताउँदै सशस्त्र प्रहरी बल नेपालको आन्तरिक कार्यको लागि १०६ वटा भन्दा बढी कार्यविधि, योजना, मापदण्ड, अवधारणा, स्थायी आदेश तथा प्रतिवेदन निर्माण गरी कार्यान्वयमा ल्याईएको बताए।
उहाँले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासको लागि नयाँ योजना, विभिन्न समयमा गरिएका संगठन सर्वेक्षण व्यवस्थापन (ओएण्डएम) लागूभएपछि १७ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा हुनुकोसाथै सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गणलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा तथा नं. २४ बाघभैरव गुल्मलाई नं. १८ विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा बाघभैरव गणमा स्तरोन्नती गरिएको र १७ वटा आश्रित गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा विओपीहरुलाई अस्थायीबाट स्थायी संरचनामा रुपान्तर गरिएको बताए ।
उनले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजाने उद्देश्यले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम संचालन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद् स्वयमसेवक तालिम प्रदान गर्नुकासाथै विपद्को सूचना दिन विपद् सुचक बनाउँदै आईरहेको उल्लेख गरे ।
रजत महोत्सव को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘बेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरेका छन् । कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा अक्षयकोष खडा गरी सो बापत प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष १ जनालाई बार्षिक २५ हजार रुपैयाँ राशीको ‘बेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणा अनुरुप यस वर्षको बेष्ट इन्टिग्रिटी अफिसर अवार्ड सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण पकली सुनसरीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको हो ।
संगठनबाट आफुलाई प्राप्त जिम्मेवारी निर्वाहमा उल्लेखनीय ढङ्गबाट कार्यसम्पादन गर्नुभई उल्लेखनीय कार्य गर्न सफल सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा ‘बेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ बाट पुरस्कृत गरिएको हो ।उनि संगठनमा इमान्दार अनुसाशीत र कर्तव्य निष्ठ अधिकृतका रुपमा परिचित छन् । विगतमा समेत विराटनगरको रानी, सिरहाको मार्डर र पर्साको विरगंज भन्सार गुल्मको कमाण्ड सम्हालेर राजश्व संकलन र तस्करी नियन्त्रणमा उल्लेखनिय योगदान पुर्याएका थिए ।
साेही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट प्रदान गरेका छन् । योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन् ।संगठनको गतिविधी छिटो छरितो र सहज ढंगले संचारमाध्यम उपलब्ध गराई प्रचारप्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेवापत सशस्त्र प्रहरी नायव उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्तको जिम्मेवारीमा रहेका छन् ।
रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक कोइरालालाई एपिएफ सम्मानबाट सम्मानित गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक कोईराला सशस्त्र प्रहरी बल नेपालमा बिभिन्न जिम्मेवारीमा इमान्दार अनुशासित र बहुआयामिक व्यक्तिको रूपमा चिनिन्छन् ।
उनी सुरक्षा सेवाको अतिरिक्त आफ्नो कला, साहित्य, अभिनय, सिर्जना, लेखन, परिकल्पना तथा सांस्कृतिक प्रस्तुती एवं सन्देशमूलक टेलिभिजन कार्यक्रमहरु र गीत संगीतमार्फत आम जनमानसमा परिचित छन् । सुरक्षा सेवाजस्तो अनुशासित र चुनौतीपूर्ण पेशामा आवद्ध रहँदा पनि उनले आफ्नो कला र साहित्यलाई समेत सिर्जनात्मक ढंगले अगाडी बढाएका छन् ।
उनका लेखन, अवधारणा र सिर्जनाहरूले संगठनभित्र सिर्जनात्मक संस्कृतिको विकास गर्नुकासाथै सार्वजनिक कार्यक्रम, राष्ट्रियसभा समारोह तथा विशेष अवसरहरूलाई गरिमामय र सन्देशमूलक बनाउने कार्य समेत गरेको छ ।तसर्थ, उनलाई पेशागत निष्ठा, इमान्दारिता र अनुशासनसंगै उनी भित्र रहेको कला र निरन्तर साधनाको उच्च प्रसंशा गर्दै २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा एपीएफ सम्मान प्रदान गरिएको हो । सशस्त्र प्रहरीमा गर्विलो पुरस्कारको रुपमा लिईने एपीएफ सम्मान हालसम्म तीन जना अधिकृतलाई प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘२५औं सशस्त्र प्रहरी दिवस २०८२’ (रजत महोत्सव)को अवसरमा श्रीमती मिथिला शर्मा र अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई एपीएफ सम्मानद्वारा सम्मानित गरिएको हो ।