काठमाडौं - रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’मा परेको छ ।बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ तोकिएपनि हेर्न नमिल्नेमा परेको हो ।
अब यही माघ ११ गतेका लागि पेसी तोकिएको छ । यसअघि यही माघ ६ गते न्यायाधीश अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो । महान्यायाधिवक्ताको कार्यालयले रविमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने र सहकारी ठगीको अभियाेग यथावत् राख्ने गरी संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको थियो ।
यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल, आयुष भण्डारीसमेतले रिट दायर गरेका थिए ।रिट निवेदकको मागअनुसार निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा निर्णय लिन सर्वोच्चले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई छलफलमा डाकेको थियो । उक्त मुद्दालाई अग्राधिकारसमेत प्रदान गरिएको छ ।