- भावी प्रधानमन्त्री दाबी गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल पूर्वप्रधानमन्त्री हुन्
- कांग्रेसले सभापति गगन थापा, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन यसपटक प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका छन्
- प्रधानमन्त्रीका रुपमा रास्वपाले अघि सारेको बालेन्द्र साह, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिँदै
काठमाडौं- आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्न तम्सिएका नेताहरुले सहज क्षेत्रबाट उम्मेदवारी दिने गर्छन् । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले भने अर्का प्रधानमन्त्रीका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै आधार क्षेत्रमा धावा बोलेका छन् ।
झापा-५ ओलीको आधार इलाका हो । ओलीले यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् भने बालेनले पनि यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ भने एमालेले ओलीलाई । योसँगै फागुन २१ गतेको ‘इपिसेन्टर’ झापा-५ हुने निश्चित भएको छ । बालेन र ओली अहिले यो क्षेत्रलाई आधार बनाएर चुनावी प्रचारमा उत्रिसकेका छन् ।
लगातार यही क्षेत्रमा निर्वाचन जित्दै आएका ओली २०७९ को मंसिरमा २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीलाई पराजित गर्दा ओलीले एक लाख दुई हजार १५० खसेको मतमध्ये ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । त्यतिबेला रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए । बालेन पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा भिड्न लागेका हुन् । ओलीको आधार इलाका भए पनि युवा र नयाँ मतदाताको ‘क्रेज’ बालेनतिर देखिएकाले यो क्षेत्रको भिडन्त रोचक हुने देखिन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङ उम्मेदवार छन् ।
यता नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका गगन यसपटक सर्लाही-४ मा झरेका छन् । कांग्रेसको आधार इलाका मानिने यो क्षेत्रमा अघिल्लोपटक बागी उम्मेदवार अमरेश सिंह निर्वाचित भएका थिए । यसपटक अमरेश रास्वपाबाट यही क्षेत्रमा उम्मेदवार छन् ।
२०७९ मंसिरको निर्वाचनमा कांग्रेसले टिकट नदिई निस्कासन गरेपछि सिंहले बागी उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायलाई एक हजार ७६५ मतान्तरले हराएका थिए । सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मतमात्र ल्याए । अर्की स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत पाएकी थिइन् । गगनका लागि यो नयाँ निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा एमालेबाट शिव पुजन उम्मेदवार छन् भने नेकपाबाट रगनसि राय यादव छन् ।
यता भावी प्रधानमन्त्रीका रुपमा हेरिएका पुष्पकमल दाहाल सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका छन् । नेकपाका संयोजक दाहाल चितवनबाट गोरखा हुँदै यसपटक रुकुम पूर्व पुगेका हुन् । रुकुम पूर्वबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका थिए । एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पाँच हजार २२१ मत प्राप्त गरेका थिए । सुरक्षित क्षेत्र खोज्दै दाहाल यहाँ पुगेका हुन् । यहाँ कांग्रेसले कुसुमदेवी थापालाई अघि सारेको छ भने एमालेले लीलामणि गौतमलाई र रास्वपाले लखन थापालाई अघि सारेको छ ।
यसैगरी प्रधानमन्त्रीका अर्का आकांक्षी हुन्, कुलमान घिसिङ । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ काठमाडौं-३ मा भिड्दै छन् । यो क्षेत्रमा कांग्रेसबाट रमेश अर्याल उम्मेदवार छन् । यता एमालेबाट रामेश्वर फुयाल र नेकपाबाट निरज लामा उम्मेदवार छन् । रास्वपाले काठमाडौं महानगरका पूर्वप्रहरी प्रमुख राजु पाण्डेलाई अघि सारेको छ ।
यो क्षेत्रमा २०७९ मंसिरको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण राईले ११ हजार १९६ मत प्राप्त गरेका थिए । २०७४ मा भने राई यो क्षेत्रबाट निर्वाचित भएका थिए । पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको निवर्तमान ऊर्जामन्त्री घिसिङ यो क्षेत्रमा जसरी पनि जित निकाल्ने दाउमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजेन्द्र लिङ्देनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । यसअघि झापा-३ बाट निर्वाचित भएका उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता सिटौलाले ३७ हजार ३७२ मत पाएका थिए । यसपटक यहाँ कांग्रेसले राजेन्द्र घिमिरेलाई अघि सारेको छ भने एमालेले हरिलाल राजवंशीलाई । नेकपाबाट डिल्ली घिमिरे र रास्वपाबाट प्रकाश पाठक उम्मेदवार छन् । राप्रपाले प्रधानमन्त्रीका रुपमा लिङ्देनलाई अघि सारे पनि यसपटक राप्रपाको उम्मेदवारी देशभर कमजोर देखिएको छ ।
यता श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । सुनसरी-१ बाट निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका यस पार्टीका अध्यक्ष साम्पाङ माटो चुनाव चिह्न लिएर उत्रिएका छन् । यहाँ कांग्रेसले सुजेन्द्र तामाङलाई अघि सारेको छ । एमालेले टीकाराम लिम्बूलाई अघि सारेको छ भने नेकपाले सूर्यबहादुर भट्टराईलाई अघि सारेको छ । यता रास्वपाले सरिन तामाङ गोमालाई अघि सारेको छ ।
२०७९ को निर्वाचनमा सुनसरी-१ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका थिए । यसपटक पनि उम्मेदवार बनेकी रास्वपाकी गोमा झिनो मतले पराजित भएकी थिइन् । अशोक राईले १७ हजार ५९ मत पाउँदा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन् ।
माधव-रेशमसहित पाँच उम्मेदवारविरुद्ध उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकामध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ । जसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि नागरिक उन्मुक्तिका रेशम चौधरीसम्म छन् ।
रौतहट-१ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपालको उम्मेदवारीविरुद्ध पताञ्जलि जग्गाका विषयमा उजुरी परेको आयोगले जनायो । उक्त उजुरी दरपीठ भइसकेको आयोगले जनायो । आयोगका अनुसार भक्तपुरमा रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको हो । भक्तपुरका निर्वाचन अधिकृत राधिका सुवालका अनुसार नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको दाबी गर्दै नवीनकुमार महतले खत्रीविरुद्ध उजुरी दिएका हुन् । खत्रीको उजुरीविरुद्धको सुनुवाइ आज हुने आयोगले जनायो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका लालविक्रम थापाविरुद्ध उजुरी परेको छ । यता कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीउपर अध्ययन भइराखेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएका हुन् । आज बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने आयोगले जनाएको छ । आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । भोलि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।