पाँचथर- आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता हुँदा एकजना मात्रै युवा परेका छन् । उम्मेदवारी दर्ता हुँदा एकजना मात्रै युवा परेका छन् भने महिला र दलितको सङ्ख्या शून्य रहेकाे हाे ।
एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा युवा उमेर समूहबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट ३८ वर्षीय प्रकाश काफ्लेको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ र श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ४० वर्षको छन् । अन्य दलका उम्मेदवारको उमेर ४२ वर्षदेखि ६९ वर्षसम्म रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जेनजी पुस्ताको आन्दोलनबाट नयाँ सरकार गठन भई प्रतिनिधिसभा सदस्य निर्वाचन हुन लागेको भए पनि यहाँ युवा उमेर समूहबाट अत्यन्तै कम मात्रै उम्मेदवारी परेको हो । मुख्य राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नयाँ अनुहार ल्याएका छन् ।
नेपाली कांग्रेसबाट कांग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङ उम्मेदवार छन् । उनी विसं २०७० मा सम्पन्न संविधानसभा निर्वाचन तथा विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार भसकेका छन् । एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङ दोस्रो संविधानसभाको सदस्य तथा एमालेको केन्द्रीय सदस्य छन् । नेपाली कम्युनिष्ट पार्टीले तत्कालीन नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ वर्षीय तेजकुमार कुरुम्बाङलाई उम्मेदवार बनाएको छ । उनी निर्माण व्यवसायी सङ्घको उपाध्यक्षसमेत भइुकेका हुन् ।

त्यस्तै पाँचथरमा महिला र दलित समुदायबाट उम्मेदवारी परेको छैन । जिल्लामा यस पटक स्वतन्त्र उम्मेदवारीसमेत नपरेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए । एक लाख ७२ हजार ४०० जनसङ्ख्या रहेको पाँचथरमा लिम्बू समुदायको जनसङ्ख्या ७४ हजार ७७५ अर्थात् ४३ दशमलव ३७ प्रतिशत छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारमध्ये १३ जना लिम्बू समुदायबाट छन् । जिल्लामा एक लाख ४३ हजार ४०८ जना मतदाता छन् ।