नयाँ दिल्ली- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष (अप्रिल २०२५–मार्च २०२६) का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान बढाएर ७.३ प्रतिशत पुर्याएको छ । यसअघि आईएमएफले भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
आईएमएफको यो नयाँ अनुमान भारत सरकारद्वारा सोही अवधिका लागि गरिएको ७.४ प्रतिशतको प्रक्षेपणभन्दा थोरै मात्र कम हो ।आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर २०२५) मा अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि देखिनु र चौथो त्रैमासिक (जनवरी–मार्च २०२६) मा पनि ‘मजबुत गति’ कायम रहनुले वृद्धिदरको अनुमान बढाउन सहयोग पुगेको हो ।
यद्यपि, प्रतिवेदनमा चक्रीय तथा अस्थायी कारकहरू कमजोर हुँदै जाँदा सन् २०२६ र २०२७ मा भारतको आर्थिक वृद्धिदर घटेर ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको भनिएको छ ।