प्रतिनिधिसभा सदस्य निर्वाचन अब भने तोकिएको मितिमै हुने आशा जागेको छ । मंगलबार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्तामा देखिएको उत्साह र सहभागिताले निर्वाचन हुने लगभग सुनिश्चित गरेको हो । जेन-जी विद्रोहपछि बनेको अन्तरिम सरकारलाई नै अस्वीकार गर्ने प्रमुख दल एमालेसहित सबै पुराना तथा नयाँ दलहरु चुनावमा होमिएका छन् ।
सुरुमा देखिएको सरकार-दलबीचको दूरी मेटाउन राष्ट्रपतिले नै पहल गर्नुपरेको थियो । त्यही दूरीका कारण सरकारले तोकेको निर्वाचन कुनै पनि हालतमा हुँदैन भन्ने एमाले पूर्णरुपमा चुनावमा होमिएको छ । राष्ट्रपतिको पहलमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताहरुबीच भएको पटक-पटकको संवादले यो अवस्था सिर्जना गरेको हो ।
त्यसो त नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाको मागसहित छुट्टाछुट्टै रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए, जुन विचाराधीन अवस्थामै रहेको छ । यद्यपि, मंगलबारको मनोनयन दर्तामा देखिएको उत्साहले देशलाई चुनावी महाकुम्भमा प्रवेश गराएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल १६५ पदमा तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ समयसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयअवधिभित्र उक्त संख्यामा उम्मेदवारी परेको हो ।
उम्मेदवारी दर्ता गर्नेमध्ये ८७ प्रतिशत अर्थात् तीन हजार ८८ जना पुरुष रहेका छन् । दलहरुले विगतमा जस्तै महिला उम्मेदवार न्यून संख्यामा उठाएका छन् । जसको परिणाम महिला उम्मेदवार १३ प्रतिशतभन्दा कम (३९५ जना)मा खुम्चिएको छ । अन्यतर्फ एक जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कूल ६८ दलबाट दुई हजार २९७ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गरी एक हजार १८७ जना प्रतिस्पर्धामा उत्रिएका छन् । उमेरअनुसार सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जनाको उम्मेदवारी परेको छ । यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९०, २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ र ६५ देखि माथि उमेरका २०१ जना उम्मेदवार भएका छन् ।
आयोगको विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५/३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सबैभन्दा कम मुस्ताङमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अपांगता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको आयोगको विवरणमा उल्लेख छ ।
समानुपातिकको बन्द सूची यसअघि नै बुझाइसकिएको छ । अब सरकारले चुनावका लागि गर्नुपर्ने मुख्य काम हो, शान्ति सुरक्षाको व्यवस्था । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थामा सरकारले कुनै पनि कञ्जुस्याइँ नगरोस् ।