काठमाडौं– सोनाम ल्होछारको अवसरमा आजदेखि टुँडिखेलमा विशेष तामाङ सांस्कृतिक महोत्सव सुरु हुँदै छ । नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् ।
महोत्सवका लागि घेदुङका अध्यक्ष मोहन गोले तामाङको संयोजकत्वमा १०१ सदस्यीय राष्ट्रिय सोनाम ल्होछार–२८६२ ता ल्होछार मूल समारोह समिति गठन गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोनाम ल्होछारअन्तर्गत पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ (घोडा वर्ष) लाई स्वागत गरिँदै छ । सर्प वर्षको बिदाइ र घोडा वर्षको स्वागतका साथ सामूहिकरुपमा ल्होछार मनाउन टुँडिखेलमा महोत्सव आयोजना गरिएको मूल समारोह समितिले जानकारी दिएको छ ।
आजबाट सुरु हुने महोत्सवको दोस्रो दिन सोमबार आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथिको रुपमा उपस्थित हुने भएकी छन् । ‘यही माघ ४ र ५ गते मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरूको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चर्चित तथा ख्यातीप्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने,’ मूल समारोह समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा तामाङ समुदायको विशेष खानाको परिकारहरू, तामाङ भेषभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य तामाङ जातिको पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिने जानकारी दिइएको छ ।
‘विगत ३५ वर्षदेखि लाखौं दर्शक महानुभावहरूको उपस्थितिबीच भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ मूल समारोह समितिका संयोजक गोलेले भने ।
नेपाल तामाङ घेदुङ संयोजक र नेपाल राष्ट्रिय तामाङ घेदुङ सहसंयोजक तथा अन्य सबै तामाङ संस्थाहरु सदस्य रहनेगरी १०१ सदस्यीय मूल समारोह समिति गठन गरी मूल समारोह समिति मातहत रहनेगरी सांस्कृतिक कार्यक्रम समिति, ताम्बा, लामा, बोन्बो तयारी समिति, स्वयंसेवक तयारी समिति, प्रचार प्रसार समिति, स्वागत, सत्कार समिति, मञ्च व्यवस्थापन समितिहरु गठन गरिएको संयोजक गोलेले बताए ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । विभिन्न १२ वटा पशुपन्छीकों नामबाट ल्होको नाम राखिएको हुन्छ । तीमध्ये प्रत्येक वर्ष एक–एक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिने संयोजक गोलेले बताए ।
तामाङ समुदायले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुने उनले बताए । ‘यो परम्परा कहिले सुरु भएको भन्न नसकिए पनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुन्छ । यो ल्होछार पर्व नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्छन्,’ संयोजक गोलेले भने ।
उनका अनुसार नेपालका तामाङसहित ह्योल्मो, मनांगे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पाले सोनाम ल्होछार मान्दछन् ।