बेलायत – फ्रन्टोटेम्पोरल डिमेन्सिया नामक दुर्लभ रोगबाट पीडित आन्द्रे यारहमको गत डिसेम्बर २७ मा इंग्ल्यान्डको नर्फोकस्थित जीवनको अन्तिम चरणको हेरचाहको क्रममा निधन भएको हो। संक्रमणका कारण स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन्।
सामान्यतया ४५ देखि ६५ वर्ष उमेरपछि देखिने डिमेन्सिया आन्द्रेलाई भने अत्यन्तै कम उमेरमै देखिएको थियो। सन् २०२२ मा उनको व्यवहार, बोली र स्मरणशक्तिमा परिवर्तन देखिन थालेपछि परीक्षण गर्दा मस्तिष्कको तीव्र क्षय भएको पत्ता लागेको थियो। एमआरआई परीक्षणमा उनको मस्तिष्क ७० वर्षको वृद्धजस्तै देखिएको चिकित्सकहरूले बताएका थिए।
रोग तीव्र रूपमा बढ्दै गएपछि आन्द्रे बोल्न नसक्ने, हिँड्न गाह्रो हुने र दैनिक कामका लागि पूर्ण रूपमा अरूमा निर्भर हुनुपर्ने अवस्थामा पुगेका थिए। केही महिनामै उनी ह्वीलचेयरमा सीमित भएका थिए।मृत्युपछि आन्द्रेको परिवारले उनको मस्तिष्क वैज्ञानिक अनुसन्धानका लागि दान गरेको छ।
उनका आमाले यो निर्णय अन्य परिवारहरूका लागि आशा र समाधानको बाटो खुलोस् भन्ने उद्देश्यले लिइएको बताएकी छन्। ‘यदि आन्द्रेको मस्तिष्कले अरू कसैको जीवनमा केही वर्ष थप्न सक्यो भने, त्यही नै हाम्रो लागि ठूलो कुरा हुनेछ,’ उनले भनिन्।
विशेषज्ञहरूका अनुसार यो घटनाले कम उमेरमा पनि डिमेन्सिया देखिन सक्ने र समयमै पहिचान तथा उपचार अत्यन्त आवश्यक रहेको बताएका छन्। साथै, यस्ता दुर्लभ केसहरूले डिमेन्सियाबारे थप अनुसन्धानको आवश्यकता देखाएको उनीहरूको भनाइ छ।