काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) ले ज्यालादारी तथा करार सेवामा कार्यरत आफ्ना जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ । नेपाल सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेपछि राससले गरेको सो निर्णयबाट समितिमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्ति लाभान्वित हुनेछन् ।
सो सन्दर्भमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससप्रति समर्पित भई अमूल्य योगदान दिइरहेका अस्थायी तथा ज्यालादारी सेवामा कार्यरत जनशक्तिको बृहत्तर हितलाई ध्यानमा राखी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक नीतिगत व्यवस्था गरेको बताए ।
उनले सामाजिक सुरक्षा कोषमा आबद्ध भई सम्बद्ध कर्मचारीलाई राहत दिने उद्देश्यका साथ समितिको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम शीर्षकमा बजेट व्यवस्था गरी सरोकार भएका पक्षसँग चरणबद्ध रुपमा छलफल गरिरहेको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राथमिकताका साथ कार्यान्वयनमा जान निर्देशन प्राप्त हुनासाथ उक्त निर्णय गरिएको स्पष्ट गरे ।
कार्यकारी अध्यक्ष झाले सरकारबाट आवश्यक नीति र बजेट व्यवस्था भए राससका स्थानीय समाचारदातालाई पनि कोषमा आबद्ध गर्न सकिने धारणा व्यक्त गर्दै सहयोगका लागि सरकारसँग अनुरोध गरे । नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रही काम गर्दा र आमसञ्चार प्रशिक्षणका क्रममा देशका सबैजसो जिल्ला पुग्दा पत्रकारका बारेमा राम्रोसँग बुझ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै पत्रकारितामा समर्पित भई अहोरात्र खटिरहेको सबैलाई सो कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिए ।
राससका महाप्रबन्धक सन्दीप राईले राससका स्थायी कर्मचारीसरह जिम्मेवारी पूरा गरिरहेका ज्यालादारी तथा करार सेवामा कार्यरत न्यून वेतनधारी जनशक्तिको श्रमलाई सम्मान गर्दै गरिएको कोषसम्बन्धी निर्णय अब छिट्टै कार्यान्वयनमा जाने बताए । उनले सञ्चार मन्त्रालयअन्तर्गतका निकायहरूमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सन्दर्भमा सबैभन्दा पहिला पहल गरी यस किसिमको निर्णय गर्न रासस सफल भएको दाबी गरे ।
सो कोषमा आबद्ध हुने योगदानकर्ताले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत सम्बन्धित कार्यालय र ११ प्रतिशत व्यक्तिको गरी मासिक ३१ प्रतिशतका दरले कोषमा सञ्चय हुने व्यवस्था छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने लाभग्राहीका पक्षमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुघर्टना सुरक्षा, अपांगता सुरक्षा, आश्रित परिवार सुरक्षालगायतका योजना तथा कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ । हाल नेपालमा करिब २६ लाख ५० हजार योगदानकर्ता कोषमा आबद्ध छन् ।