टक्सार- भोजपुर नगरपालिका-८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो ।
शस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित एक लाख ७५ हजार रुपैयाँ र स्थानीय श्रमदानबाट ३१ हजार ६२५ रुपैयाँको लागतमा धारा निर्माण सम्पन्न भएको बताए । हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताए । भोजपुर-८ का वडाध्यक्ष नवीन प्रधानले भने, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आइरहेको छ ।”
सशस्त्र प्रहरीको २५औँ दिवसको अवसर पारेर भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पुनर्निर्माण भएका धाराको संयुक्त रूपमा उद्घाटन गरे । पुराना ऐतिहासिक संरचनाको पुननिर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको व्यवस्थापन गर्दै आएको उमप्रमुख शेर्पाले बताए ।
स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गरेका थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्याएका थिए ।