बेइजिङ- चीनले इरानलाई आफ्नो आन्तरिक स्थिरता कायम राख्न सहयोग गर्ने स्पष्ट सङ्केत दिएको छ र संयुक्त राज्य अमेरिकाले घोषणा गरेको नयाँ कर तथा प्रतिबन्धको कडा निन्दा गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्दै आएको र अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीलाई अस्वीकार गर्ने बताए ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकहरूलाई लक्षित गर्दै जारी गरेको पछिल्ला प्रतिबन्ध तथा करबारे प्रतिक्रिया जनाउँदै चीनको अडान स्पष्ट रहेको उल्लेख गरे । उनले भने, “करको विषयमा चीनको स्थिति अत्यन्त स्पष्ट छ । कर युद्धमा कोही पनि विजेता हुँदैन । चीनले आफ्ना वैध र कानूनी अधिकार तथा चासोको दृढतापूर्वक रक्षा गर्नेछ ।”
सामाजिक सञ्जाल एक्समा राखिएको सन्देशमा पनि प्रवक्ता लिनले चीनले इरानले स्थिरता कायम राख्ने अपेक्षा गरेको र त्यसका लागि समर्थन जनाउने दोहोर्याए । उनले चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दै आएको स्पष्ट पारे ।
यसैबीच, इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घका महासचिवसमक्ष औपचारिक रूपमा अपील गर्दै संयुक्त राज्य अमेरिकाले हिंसा भड्काएको, इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र सैन्य कारबाहीको धम्की दिएको आरोप लगाएको छ । संयुक्त राष्ट्रसङ्घमा इरानको स्थायी मिसनद्वारा प्रसारित आधिकारिक पत्रमा यी गम्भीर आरोपहरू उल्लेख गरिएका छन् ।
उक्त पत्रमा संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि तथा राजदूत अमिर सइद इरवानीले इरानमा हालै भएका विरोध प्रदर्शनको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले दिएका टिप्पणीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । तेहरानका अनुसार ती टिप्पणीहरूले अशान्ति भड्काउन प्रोत्साहन गरेको र राज्य संस्थाहरू कब्जा गर्ने प्रयासलाई बाह्य समर्थन मिलेको सङ्केत दिएको छ ।
इरानी अधिकारीहरूले यस्ता टिप्पणीलाई देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाविरुद्धको स्पष्ट खतरा भन्दै आएका छन् । पत्रमा अमेरिकी अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय कानूनका मूल सिद्धान्तहरू उल्लङ्घन गरेको दाबी गरिएको छ, जसमा संयुक्त राष्ट्रसङ्घको बडापत्रअन्तर्गत धम्की वा बल प्रयोगको निषेध र सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने व्यवस्था समावेश छन् ।
इरानको तर्कअनुसार यस्ता बयानबाजीले राजनीतिक अस्थिरता बढाउने र हिंसा भड्काउने जोखिम सिर्जना गर्छ, जसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर असर पार्न सक्छ । पत्रमा यसप्रति विशेष जोड दिइएको छ । इरानी मिसनले वासिङ्टनबाट पछिल्ला हप्ताहरूमा पटक–पटक बल प्रयोगको धम्की आएको आरोप लगाउँदै यसलाई बढ्दो दबाबको व्यापक ढाँचाको हिस्सा भनेको छ ।
यस सन्दर्भमा डिसेम्बर २०२५ को अन्त्य र जनवरी २०२६ को सुरुआतमा संयुक्त राष्ट्रसङ्घमा पठाइएका अघिल्ला कूटनीतिक पत्रहरूको उल्लेख गरिएको छ, जसमा यस्तै चिन्ताहरू अभिलेख गरिएको इरानको दाबी छ । इरानी अधिकारीहरूका अनुसार यी सबै कदमहरू प्रतिबन्ध, आर्थिक दबाब र राजनीतिक हस्तक्षेपमार्फत देशलाई कमजोर बनाउने दीर्घकालीन रणनीतिका अंश हुन् ।