काठमाडौं- थाइल्यान्डमा यात्रुवाहक रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । चीनको सहयोगमा निर्माणाधीन द्रुत गतिको रेलमार्गमा प्रयोग गरिएको एउटा क्रेन बुधबार बिहान स्थानीय समयअनुसार ९ बजे यात्रुवाहक रेलमाथि खसेको हो ।
क्रेन खसेपछि रेल लिकबाट बाहिरिएको स्थानीय अधिकारीले बताएका छन् । नाखोन रात्चासिमा प्रान्तका प्रहरी प्रमुख थत्चाफोन चिन्नाभोङले एएफपीलाई दिएको जानकारी अनुसार, दुर्घटनामा २२ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
उक्त रेलमा १९५ जना यात्रु सवार थिए । रेल बैंककबाट उबोन रात्चाथानी प्रान्ततर्फ जाँदै थियो । राजधानी बैंककको उत्तर–पूर्वमा पर्ने नाखोन रात्चासिमामा द्रुत गतिको रेल नेटवर्क निर्माणका लागि प्रयोग भइरहेको क्रेन गुडिरहेको यात्रुवाहक रेलमाथि खसेको थियो ।
चीनको ‘बेल्ट एन्ड रोड’ (बीआरआई) पूर्वाधार पहलअन्तर्गत बेइजिङको सहयोगमा सन् २०२८ सम्ममा बैंककलाई लाओस हुँदै चीनको कुनमिङसँग जोड्ने यस परियोजनाको लक्ष्य रहेको छ ।