वासिङ्टन- इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको सङ्ख्या बढ्दै गएको समाचारहरू आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई संयम अपनाउँदै प्रदर्शनकारीप्रति मानवता देखाउन आग्रह गरेका छन् ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग इरानसम्बन्धी अवस्थाबारे परामर्श गरे । उनले प्रदर्शनका क्रममा कति नागरिकको ज्यान गएको छ भन्नेबारे अझै आधिकारिक रूपमा पुष्टि भएको तथ्यांक प्राप्त नभए पनि घटनाको गम्भीरताप्रति चासो व्यक्त गरे ।
समाचार एजेन्सीका अनुसार डिसेम्बर २८ देखि सुरु भएको विरोध प्रदर्शनमा हालसम्म करिब १६ हजार ७ सय मानिस पक्राउ परेका छन् भने दुई हजार ५ सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ती तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
“सन्देश यही हो कि मानवता देखाइनुपर्छ,” ट्रम्पले इरानी सरकारप्रति संकेत गर्दै भने । उनले परिस्थितिको शान्तिपूर्ण समाधान हुने अपेक्षा व्यक्त गरे । यसअघि ट्रम्पले विरोध प्रदर्शनमाथि भइरहेको कडाइका कारण इरानी अधिकारीहरूसँग हुने सम्भावित वार्तामा रोक लगाइएको बताएका थिए । उनले इरानी नागरिकप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको संकेत गरेका भए पनि त्यसको स्वरूपबारे विस्तृत जानकारी दिेएको छैन ।
मिशिगनमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानी नागरिकलाई शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाइरहन आग्रह गरे । साथै, उनले हिंसा र दमनमा संलग्न व्यक्तिहरूको पहिचान सुरक्षित राख्न सुझाव दिए । यसप्रति प्रतिक्रिया जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इराभानीले ट्रम्पका अभिव्यक्तिलाई हस्तक्षेपको रूपमा व्याख्या गर्दै आपत्ति जनाएका छन् ।
उनले यस्तो अभिव्यक्तिले क्षेत्रीय स्थिरता र इरानको सार्वभौमिकतामा असर पार्न सक्ने बताएका छन् । यसैबीच, इरानी सरकारी सञ्चारमाध्यममा प्रसारित केही स्वीकारोक्तिप्रति मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । ती स्वीकारोक्ति दबाबमा गराइएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
ट्रम्प प्रशासनका उच्च अधिकारीहरूले इरानको अवस्थाबारे कूटनीतिक, आर्थिक तथा सुरक्षा सम्बन्धी विकल्पहरूबारे छलफल जारी राखेको जनाएका छन् । अमेरिकी प्रशासनले आफ्नो प्राथमिकता नागरिकको ज्यान जोगाउनु र क्षेत्रीय स्थिरता कायम राख्नु रहेको बताएको छ ।
मानव अधिकार समूहका अनुसार इरानका सबै ३१ प्रान्तमा हालसम्म ६ सयभन्दा बढी विरोध प्रदर्शन भएका छन् । आर्थिक समस्याबाट सुरु भएको यो आन्दोलन पछिल्ला दिनहरूमा शासनप्रणालीप्रतिको व्यापक असन्तोषको रूपमा विकसित भएको विश्लेषण गरिएको छ ।