काठमाडौं - नेपाल राष्ट्र बैंकले आज थप २० अर्ब रूपियाँको ऋण पत्र बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्ने भएको छ ।आठौं पटक एक खर्ब ७५ अर्ब बराबरको ऋणपत्र आज मध्यान्ह २ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले यो महिनामा आठौं पटक ऋणपत्र बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले यसअघि पुस १४, १६, २०, २२ र २८ गते २५–२५ अर्बको, पुस २३ गते २० अर्ब र पुस २४ गते १० अर्बको ऋणपत्र बिक्री गरेको छ । त्यसपछि आज पुस २९ गते राष्ट्र बैंकले थप २० अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘ज’ बिक्री गर्न लागेको हो ।
यो ऋणपत्रको अवधि एक वर्षको रहेको छ । क, ख र ग बर्गका बैंकले मात्रै यो ऋणपत्र खरिद गर्न सक्नेछन् । अहिले कर्जाको माग न्यून भएका कारण बैंकहरूमा झण्डै १२ खर्ब तरलता थुप्रिएको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले ऋणपत्र समेत बिक्री गरेको हो ।
आज मध्यान्ह २ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्नेछ । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा पाँच करोड रूपियाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । एक वर्षपछि २०८३ पुस २९ गते साँवा भुक्तानी गरिनेछ । ब्याज भने अर्ध वार्षिक रुपमा भुक्तानी गरिनेछ ।
कर्जाको माग बढ्न नसक्दा बैंकहरू मै पैसा थुप्रिएको छ । त्यो अवस्थामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बैंकहरुमा भएको पैसा तान्दै आएको छ ।