यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा महाराजगञ्जमा आराम गरिरहेका होलान् । जेन-जी विद्रोहको बेला भदौ २४ गते आफ्नै निवासमा कुटिएका देउवा उपचारपछि आराम गरिरहे पनि मन भने कुँडिएको होला । कारण महामन्त्रीद्वयले आफ्नो टेरपुच्छर नलाई विशेष महाधिवेशन आयोजना गरे भनेर ।
विधानतः कांग्रेस नेतृत्वमा देउवाको कार्यकाल मंसिरमै सकिएको हो । निर्वाचन घोषणा भइसकेको अवस्थामा महाधिवेशन गर्न नसकिने भन्दै देउवाले आफ्नो कार्यकाल थपिरहेका छन् । यो बीचमा सक्दो चाँडो महाधिवेशन गर्नुपर्छ भनेर युवा महामन्त्रीहरुले दबाब दिएकै हुन् । संस्थापनइतरले पनि यसमा साथ दिए । देउवापक्षकै २५ जना केन्द्रीय सदस्य पनि निर्वाचनअघि नै महाधिवेशन हुनुपर्छ भन्ने लाइनमा उभिए । तर देउवाले बहुमत आफ्नै पक्षमा छ भन्दै यो आवाज सुनेनन् । फागुन २१ गते निर्वाचन आउँदै छ । यो बीचमा नेकपा एमालेले मंसिरको मसान्तमा आफ्नो महाधिवेशन सकायो । भलै, केपी शर्मा ओलीले नेतृत्व छाडेनन् त्यो अर्कै विषय हो । तर विधानतः एमाले अपडेट भयो । कांग्रेसमा देउवालाई छुट छैन । अब उनी विधानतः सभापति बन्न पाउने छैनन् ।
देउवालाई एकै लोभ छ एकपटक प्रधानमन्त्री बन्ने । कांग्रेस नेतृत्वबाट बिदा भए यो अवसर गुम्ने डरमा बाँचेका देउवालाई निर्वाचनअघिको महाधिवेशन एकदम अरुचिको विषय हो । सकेसम्म विघटित प्रतिनिधिसभा ब्युँताएर भए पनि प्रधानमन्त्री बन्ने आकांक्ष देउवाको सुनिन्छ । तर ठीक उल्टो कांग्रेसमा युवाको माग छ, परिवर्तनको । देउवाको नेतृत्वका कारण कांग्रेस कमजोर बन्दै गएको छ ।
निर्वाचनमा पहिलो दल बनेर पनि कांग्रेसले सरकारको नेतृत्व गर्न सकेन । तानाशाहीको रुपमा आरोप लागेका एमाले अध्यक्ष ओलीसँग साँठगाँठ गरेर भागबण्डाको राजनीतिलाई सतहमै ल्याए । अघिल्लो निर्वाचनमा कांग्रेसका हार लज्जास्पद थियो । त्यसपछि माओवादीसँग चुनावी तालमेल ग¥यो । यसले गर्दा देउवा आलोचित बने ।
युवाको नजरमा देउवाको साख गिर्दै गएको छ । तर पनि नेतृत्वमा उनको चाहना अझै देखिन्छ । उनलाई भरथेग गर्ने सारथीहरु पनि प्रशस्तै छन् । देउवालाई अब नेतृत्वमा टेको लगाएर राख्नुभन्दा पनि टेको लगाउनेहरुले बुझ्नुपर्ने कुराचाहिँ ‘ग्रेसफुल एक्जिट’ दिनु उत्तम हो । यो त टेको लगाउन खोज्नेहरुको कुरा भयो, देउवा आफैं पनि ‘ग्रेसफुल एक्जिट’ चाहने हो भने युवाको आवाजलाई सुन । भृकुटीमण्डपमा उत्रिएका कांग्रेसजनको मनलाई मान । यो देउवाका लागि अन्तिम अवसर हो ।