उहाँ पार्टी संयोजक हुनुहुन्छ, अरु उम्मेदवारजस्तो प्रचारमा गाउँ-गाउँ जान पाउनुहुन्न । त्यसो हुँदा कम मिहेनत गर्दा जित्ने क्षेत्र रोज्नुलाई अन्यथा मान्नु हुँदैन ।
ओनसरी घर्ती मगर
नेत्री, नेपाली कम्युनिस्ट पार्टी
दाहालको चुनावी क्षेत्र
- रोल्पा-२ र काठमाडौं-१० (२०६४)
- काठमाडौं-१० र सिरहा-३ (२०७०)
- चितवन-३ (२०७४)
- गोरखा-२ (२०७९)
- रुकुमपूर्व (२०८२)
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल आफूले नेतृत्व गरेको १० वर्षे जनयुद्धको ‘इपिसेन्टर’बाट निर्वाचन लड्ने भएका छन् । त्यो हो- रुकुमपूर्व । माओवादी युद्धको यो अधिक प्रभावितमध्येको एक क्षेत्र हो ।
विगतमा यहाँदेखि जनार्दन शर्मा निर्वाचन लड्थे । उनी २०६४ यता हरेकपटक निर्वाचित पनि भए । गत मंसिरको तेस्रो साता भने तत्कालीन माओवादी छाडेर उनीसमेतले प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका छन् । शर्मा सोही दलबाट निर्वाचन लड्ने तयारीमा छन् । यस्तोबेला दाहालले आफ्नै पूर्वउपमहासचिव शर्मासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । दाहालले शनिबार रुकुमपूर्व गएर भने, ‘यसपालि म रुकुमपूर्वबाट चुनावमा उठ्ने छु ।’
रुकुमपूर्वमा जनार्दनसँग टक्कर गर्ने नेकपाका बलिया नेता छैनन् । त्यसैले नेकपाको रुकुमपूर्वले दाहालको नाम प्रत्यक्ष उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । हालै त्यहाँदेखि आएको पार्टीको प्रतिनिधिमण्डलले दाहाललाई रुकुमपूर्वबाटै निर्वाचन लड्न दबाब दिएका थिए ।
उनले २०६४ मा रोल्पा-२ बाट निर्वाचन जितेपछि नफर्किएको आरोपको सामना गर्नुपरेको थियो । फेरि उनका लागि निर्वाचन जित्ने क्षेत्र विरलै छन् । कारण, नेकपाको पकड क्षेत्र हरेक निर्वाचनमा गुम्दै गएको छ । यस्तोमा दाहालले रुकुमपूर्वबाटै निर्वाचन लड्ने निक्र्योल गरेका हुन् ।
पूर्वसभामुख ओनसरी घर्तीमगर दाहालको आगामी प्रतिनिधिसभामा अपरिहार्यता हुने भएकाले उनी कम मिहेनतले जित्ने ठाउँबाट उम्मेदवार बन्न खोज्नुलाई स्वाभाविक लिनुपर्ने बताउँछिन् । ‘पार्टी संयोजक हुनुहुन्छ, उहाँ अरु उम्मेदवारजस्तो प्रचारमा गाउँ-गाउँ जान पाउनुहुन्न । त्यसो हुँदा कम मिहेनत गर्दा जित्ने क्षेत्र रोज्नुलाई अन्यथा मान्नु हुँदैन,’ उनले प्रभावसँग भनिन् ।
दाहालले २०७९ को प्रतिनिधिसभा निर्वाचन गोरखा-२ बाट लडेका थिए । त्यहाँदेखि निर्वाचित भएर उनी प्रधानमन्त्री भए । युद्धका सहयात्री डा. बाबुराम भट्टराईले उनलाई त्यहाँ चुनावी मैदान खाली गरिदिएका थिए, पार्टी एकता गर्ने सर्तमा । दाहालले त्यहीँबाट निर्वाचन जिते तर पार्टी एकता गरेनन् । यसपटक गोरखा-२ बाट नेकपाले नेता लेखनाथ न्यौपानेलाई निर्वाचन लडाउने भएको छ । उनी पनि निर्वाचन गतिविधिमा सक्रिय भएका छन् ।
दाहालले २०७४ को प्रतिनिधिसभा निर्वाचन चितवन-३ बाट लडेका थिए । यसपटक त्यहाँबाट छोरी रेनु दाहाललाई उम्मेदवारी बनाउने चर्चा छ । उनी भरतपुर महानगरपालिकाकी प्रमुख हुन् । उनै रेनु नेकपाको तर्फबाट उम्मेदवारको प्रबल दाबेदार हुन् ।
संयोजक दाहाल २०७० को संविधानसभा निर्वाचन काठमाडौं-१० र सिरहा-३ बाट लडेका थिए । काठमाडौं-१० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित भए । सिरहा-३ बाट मात्रै निर्वाचित भए । त्यसअघि २०६४ मा भने रोल्पा-२ र काठमाडौं-१० बाट विजयी भएका थिए ।
यसरी दाहाल हरेकपटक चुनावी भूगोल परिवर्तन गर्छन् । आलोचकहरू यसलाई सुरक्षित क्षेत्र खोज्ने दाहाल प्रवृत्ति भन्छन् । तर, समर्थक र कतिपय विश्लेषकहरू भने यसलाई दाहालको राजनीतिक अनुकूलन क्षमताका रूपमा हेर्छन् । सत्ता समीकरण बदलिँदा, मतदाताको मनोविज्ञान फेरिँदा र आन्दोलन-विद्रोहको असर देखिँदा उनले आफूलाई उपयुक्त भूगोलमा पुनःस्थापित गर्दै आएका छन् ।
पछिल्ला वर्षहरूमा सहरी र घना जनसंख्या भएका निर्वाचन क्षेत्रमा मतदाताको व्यवहार अप्रत्यासित बनेको छ । भदौ २३-२४ को जेन-जी विद्रोहपछि स्थापित परम्परागत दलप्रतिको असन्तोष झनै तीव्र देखिएको छ । यही परिवेशमा दाहालले युद्धभूमि र सांगठनिक शक्ति मजबुत भएको रुकुमपूर्व रोजे ।
नेकपा नेता तथा लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्ती दाहालको केवल सांसद बन्ने प्रयास होइन, आफ्नै राजनीतिक इतिहाससँग पुनः जोडिने प्रयत्न पनि भएको बताउँछन् । ‘उहाँकै नेतृत्वमा हामीले युद्ध लड्यौं । अहिलेको राजनीतिक व्यवस्था हामीले लडेको युद्धको उपलब्धि हुन् तर कमरेड प्रचण्ड युद्धपछि युद्धभूमिमा कमै पुगेको गुनासो थियो जनताको,’ उनले भने, ‘अब उम्मेदवार बनेर जाँदा आफ्नै इतिहाससँग पनि उहाँ जोडिनुहुन्छ ।’
दाहालको नाम कालिकोटबाट पनि प्रत्यक्ष निर्वाचन लड्न सिफारिस भएको थियो । सिन्धुली-२ बाट उनको नाम सिफारिस भएको थियो । तर, यी दुवै क्षेत्रभन्दा दाहालले रुकुमपूर्वलाई रोजे ।