एपी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानको घोषणा गरेका छन् ।
उक्त घटनामा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री अल्बानिजका अनुसार यो अनुसन्धान शाही आयोगका रूपमा सञ्चालन हुनेछ, जुन अस्ट्रेलियामा सम्भव सबैभन्दा उच्चस्तरीय र स्वतन्त्र सार्वजनिक छानबिन मानिन्छ । बिहीबार क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोगको नेतृत्व उच्च अदालतकी पूर्वन्यायाधीश भर्जिनिया बेलले गर्ने जानकारी दिए।
उनका अनुसार आयोगले अस्ट्रेलियामा यहुदीविरोधको प्रकृति, यसको व्यापकता र यसलाई बढावा दिने कारकहरूबारे गहिरो अध्ययन गर्नेछ । साथै, बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका पृष्ठभूमि, परिस्थितिहरू र त्यससँग जोडिएका कारणहरूको समेत विस्तृत अनुसन्धान गरिनेछ । आयोगले कानून कार्यान्वयन सुधार, सामाजिक एकता मजबुत बनाउने उपाय तथा चरमपन्थको फैलावट रोक्ने रणनीतिबारे सिफारिसहरू पनि प्रस्तुत गर्नेछ ।
हनुक्का पर्व मनाइरहेका बेला सिड्नीको एक प्रमुख स्थानमा भएको उक्त आक्रमणको एक वर्ष पूरा हुने मिति डिसेम्बर १४ भित्र आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री अल्बानिजले बताए । “यो स्पष्ट रूपमा यहुदीविरोधी आतङ्कवादी आक्रमण थियो”, प्रधानमन्त्री अल्बानिजले भने, “यो यहुदी अस्ट्रेलियाली समुदायलाई लक्षित थियो र इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । अस्ट्रेलियाको भूमिमा यस प्रकारको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।”
उक्त घटनाका जीवित संदिग्ध २४ वर्षीय नावीद अकरममाथि हत्या र आतङ्कवादसहित दर्जनौँ आपराधिक अभियोग दर्ता गरिएको छ । उनले अहिलेसम्म अभियोग स्वीकार वा अस्वीकारसम्बन्धी निवेदन दिएका छैनन् । घटनाका क्रममा उनका पिता साजिद अकरमलाई प्रहरीले गोली हानेर मारिएको थियो ।
यसअघि न्यु साउथ वेल्स राज्यस्तरीय अनुसन्धानको सट्टा राष्ट्रिय शाही आयोग गठन गर्न राजनीतिक दलका सांसदहरू, यहुदी समुदायका नेताहरू तथा खेलकुद र सार्वजनिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले हप्तौँदेखि दबाब दिँदै आएका थिए । प्रारम्भमा प्रधानमन्त्री अल्बानिजले यति ठूलो अनुसन्धान लामो समय लाग्ने भन्दै हिचकिचाहट देखाएका थिए । तर बिहीबार उहाँले दबाबका कारण आफ्नो धारणा बदलेको भन्ने आरोपलाई अस्वीकार गरे ।
“मैले जनताको आवाज सुनेको छु”, उनले भने, “लोकतन्त्रमा यो सकारात्मक कुरा हो ।” प्रधानमन्त्री अल्बानिजले गोलीकाण्डलगत्तै अस्ट्रेलियाका सुरक्षा र कानून प्रवर्तन निकायहरूले सुरु गरेको अनुसन्धान शाही आयोगकै प्रक्रियामा समेटिने जानकारी दिए । साथै, उनले घटनापछि नयाँ विधायी एजेन्डा अघि बढाउने योजना पनि सार्वजनिक गरेका छन् । यसमा अस्ट्रेलियाका पहिले नै कडा बन्दुकसम्बन्धी कानूनहरूलाई थप कडा बनाउने र तथाकथित घृणा फैलाउने अभिव्यक्तिलाई आपराधिक कसुरका रूपमा परिभाषित गर्ने प्रावधान समावेश हुने बताइएको छ, जुन हालका कानूनमा अभियोजनका लागि पर्याप्त कडा नभएको सरकारको ठहर छ ।