नेपाली कांग्रेसमा अहिले विशेष महाधिवेशनको तयारी तीव्र रुपमा बढिरहेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गरेसँगै यो प्रक्रिया अगाडि बढेको थियो । गत भनौ २३ र २४ गते जेन-जी विद्रोह भयो । उक्त विद्रोहको प्रश्न थियो, कांग्रेसमा नेतृत्व फेरिनुपर्छ । हुन पनि कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल मंसिरमै सकिँदै थियो ।
यही अनुसार नियमित महाधिवेशन आयोजनाका लागि दबाब दिन संस्थापनइतरले हस्ताक्षर अभियान थाले । धेरैजसो महाधिवेशन प्रतिनिधिले यसलाई स्वागत गरे । उनीहरुको समर्थन रह्यो । उनीहरुको माग थियो फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले नेतृत्व फेर्नुपर्छ । तर कांग्रेसको नेतृत्व तहमा बसेकाले यो मागको सुनुवाई गर्ने छाँट देखाएन । बरु विशेष महाधिवेशन पक्षधरलाई नजरअन्दाज गर्ने काम गरिरह्यो ।
विशेष पक्षधरलाई अल्मल्याउने संस्थापनले पुसका अन्तिमका लागि पनि महाधिवेशनको कार्यतालिका ल्यायो । अहिले त हुँदाहुँदा संस्थापनइतका नेता डा शेखर कोइराला पनि संस्थापन पक्षसँग मिल्यो । परिवर्तन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा विशेष महाधिवेशन तयारी गरिसकेको छ । विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेमा महाधिवेशन बोलाउनैपर्ने बाध्यता छ ।
तर केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन मानेन । हुँदाहुँदा अन्तिम अवस्थामा आएर महामन्त्रीहरुलाई विशेष महाधिवेशन फिर्ता गर्न दबाबसमेत दिइयो । विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन माग्दा केन्द्रले यसलाई रोक्ने काम गरिरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिले यसलाई अवैधानिक नै भनेको छ भने रोक्नसमेत अपिल गरेको छ ।
केन्द्रीय समितिमा संस्थापन पक्षको ९५ प्रतिशतभन्दा बढी पदाधिकारी र केन्द्रीय सदस्य छन् । तर दुई महामन्त्रीसँग संस्थापन आत्तिएको छ । कारण दुई महामन्त्रीले मागेको विशेष महाधिवेशन विधानतः बलियो छ । यसैले पनि केन्द्र यो महाधिवेशनसँग डराएको छ । अहिले देउवा कहिले शेखरसँग सल्लाह माग्छन् त कहिले बैठक डाक्छन् । कहिले महाराजगञ्जमा शीर्ष नेतासँग छलफल चलाउँछन् । यस्तो अवस्थामा कांग्रेस नेता कार्यकर्ता भने अन्योलमा परेका छन् । यद्यपि प्रश्नबाट नै पार्टी गतिशील बन्छ ।
नेतृत्व जवाफदेही बन्नैपर्छ । यसो भएमा दल पनि बलियो बन्दै जान्छ । तर आवाज थुन्ने काम भने नेतृत्वले गर्न हुन्न । अहिले महामन्त्रीहरुले पार्टीलाई पुननिर्माण गर्नुपर्छ भनेर चलाएको अभियानले कांग्रेस सबल बन्दै जानेछ । यसखालको कार्यमा नेतृत्व तहले समन्वयको भूमिका खेल्दै असन्तुष्टिहरुको निवारण प्रयास जारी राख्नुपर्दछ ।