कर्णाली- कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेका हाे ।
निर्णय सार्वजनिकगर्दै प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई रु एक करोड, दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई एक करोड रुपैयाँ र कालिकाखेतु प्राथमिक स्वास्थ्यचौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रुपैयाँका लागि बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि ६० लाख रुपैयाँ सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न सङ्घीय सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय भएको छ ।