नेपाली राजनीतिमा नैतिकताको विषय उठ्नासाथ प्रश्न उब्जिन्छ- यो कुन चराको नाम हो ? प्रशासन हाँक्दै मन्त्री बन्न पुगेका कुलमान घिसिङमाथि पनि यो प्रश्न उठ्यो । सुशीला कार्की नेतृत्वको सरकारमा महत्वपूर्ण तीन मन्त्रालय सम्हालेका कुलमानलाई राजनीति गर्न मन लाग्यो । आफ्नो जनाधारको आधारमा घिसिङले उज्यालो नेपाल दल गठन गरे ।
मंसिर १७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उज्यालो नेपाल नामक दलको घोषणा भयो । त्यही दिनदेखि कुलमानमाथि प्रश्न उठ्यो । गैरदलीय सरकारमा दलीय मन्त्री । तर कुलमान यो प्रश्नबाट उम्कँदै भन्थे- म जुनसुकै पार्टीको कार्यक्रममा अतिथिको रुपमा जान्छु । उज्यालो नेपालको कार्यक्रममा पनि प्रमुख अतिथिको रुपमा पुगेको थिएँ ।
पार्टीको कुनै समितिमा पनि उनको नाम नदेखिएपछि यो प्रकरण सेलायो । झण्डै एक महिनापछि पुस १४ गते कुलमानको दलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता ग¥यो । उक्त सम्झौतामा कुलमान रास्वपाको उपसभापति हुने बुँदा प्रस्ट लेखिएको छ । उक्त एकतामा जेन-जी उमेरका खेलकुद मन्त्री बब्लु गुप्ता पनि सहभागी बने । यसपछि दुवै मन्त्रीमाथि प्रश्न उठ्यो- गैरदलीय सरकारमा दलीय मन्त्री । सोही दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पनि आफू रास्वपामा खुल्नेगरी खुसी जनाएका थिए ।
आफूमाथि निरन्तर प्रश्न उठेपछि कुलमानले मंगलबार भने- म कुनै दलमा सदस्य छैन । तर प्रश्न छल्दै आएका कुलमानले बुधबार बाध्य भएर राजीनामा दिएका छन् । यसमा उनले आफ्नो नैतिकताका कारण राजीनामा दिएको दाबी गरेका छन् । यद्यपि, नैतिकता प्रश्नमा उनी भाग्दै आएका भने थिए । तैपनि अन्ततः जवाफदेही बनेर उनले राजीनामा दिएका छन् । उनको राजीनामाले अरु मन्त्रीहरुलाई भने प्रश्न उठाएको छ- के उनीहरुले नैतिकता देखाउलान् ?
साथै, कुलमानको राजीनामाले प्रधानमन्त्री कार्कीले कुशल सारथी गुमाएकीे छन् । जेन-जी विद्रोहको क्रममा भताभुंग बनेका सिंहदरबारदेखि संसद् भवन पुनर्निर्माणका लागि कुलमानलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । काम गर्नमा ख्याती कमाएर कुलमानबाट धेरैले आशा पनि गरेका थिए- अब सरकारबाट राम्रा कामको सुरुआत हुने छ । तर करिब चार महिना सरकारमा बस्दा कुलमानमा यो छनक देखिएन । कुलमानले राजीनामा दिए पनि उनीमाथि डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादको विषयको प्रश्नको निवारण भएको छैन । यसको जवाफ कार्की नेतृत्वको सरकारले मिलेर देला वा कुलमान स्वयंले दिनुपर्ला त्यो त हेर्न बाँकी नै छ । यद्यपि, ढिलै भए पनि नैतिकता देखाएका कुलमानलाई स्याबास् भन्नैपर्छ ।