एएफपी- दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गरेका छन् । उनले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई ‘स्थगन (फ्रिज)’ गर्न सकिने सम्भावना रहेको धारणा पनि राखेका हुन् ।
लीको यो भ्रमण छ वर्षपछि कुनै दक्षिण कोरियाली राष्ट्रपतिले चीनमा गरेको पहिलो औपचारिक भ्रमण हो । सियोलले यस अवसरलाई चीनसँगको सम्बन्ध पुनःस्थापना गर्नुका साथै उत्तर कोरियासँग जटिल बन्दै गएको परिस्थितिमा कूटनीतिक सहयोग खोज्ने प्रयत्नका रूपमा लिएको छ । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।
आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि सोमबार राष्ट्रपति लीले बेइजिङमा राष्ट्रपति सीसँग भेट गरेका थिए । भेटपछि भ्रमण सम्पन्न गर्दै साङ्घाईमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्योङयाङलाई पुनः वार्ताको टेबलमा फर्काउन चीनले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।
“मैले राष्ट्रपति सीसँग कोरियाली प्रायद्वीप, विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी विषयमा चीनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्नेबारे छलफल गरेको छु”, लीले भने । उनकाअनुसार हाल उत्तर कोरियासँग संवादका सबै औपचारिक च्यानलहरू पूर्ण रूपमा अवरुद्ध अवस्थामा छन् ।
“हामी चीनले शान्तिका लागि प्रभावकारी मध्यस्थको भूमिका खेलोस् भन्ने आशा राख्छौँ”, उनकाे भनाइ थियो । राष्ट्रपति लीका अनुसार राष्ट्रपति सीले दक्षिण र उत्तर कोरियाबीचको सम्बन्ध बिग्रनुका कारणबारे प्योङयाङप्रति ‘धैर्य’ देखाउन सियोललाई आग्रह गरेका थिए । यस सन्दर्भमा लीले विगत लामो समयसम्म दक्षिण कोरियाले उत्तर कोरियाले खतरा ठान्ने खालका सैन्य गतिविधिहरू सञ्चालन गर्दै आएको स्वीकार गरे।
राष्ट्रपति लीले प्योङयाङलाई केही प्रकारको ‘क्षतिपूर्ति’ को बदलामा आफ्नो आणविक कार्यक्रम स्थगित गर्न सकिने प्रस्तावसमेत अघि सारेका छन् । उनका अनुसार हालको अवस्थामा उत्तर कोरियाले आणविक हतियारको थप उत्पादन नगर्ने, विदेशमा आणविक सामग्री हस्तान्तरण नगर्ने र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) को थप विकास नगर्ने प्रतिबद्धता जनाउनु नै प्रारम्भिक रूपमा फाइदाजनक हुनसक्छ ।
“दीर्घकालीन रूपमा भने हामीले आणविक हतियारमुक्त कोरियाली प्रायद्वीपको लक्ष्य कहिल्यै त्याग्नु हुँदैन”, उनले स्पष्ट गरे । उत्तर कोरियाले आफूलाई पटक-पटक ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै आएको छ र दुई कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अत्यन्तै खराब अवस्थामा पुगेको छ । राष्ट्रपति लीका पूर्ववर्तीलाई गत वर्ष असफल रूपमा सैन्य शासन लागू गर्न खोजेको आरोपमा पदबाट हटाइएको थियो, जसका लागि प्योङयाङलाई उक्साउने प्रयास गरिएको आरोपसमेत लागेको थियो ।
यसैबीच, सोमबार उत्तर कोरियाले आफ्ना आणविक शक्ति युद्धका लागि तयार अवस्थामा रहेको दाबी गर्दै हालै विश्वमा देखिएको ‘भू-राजनीतिक सङ्कट’ माथि नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उक्त टिप्पणी विशेष गरी भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य आक्रमणलाई सङ्केत गर्दै गरिएको मानिन्छ ।
उत्तर कोरियाली नेतृत्वका लागि यस्ता अन्तर्राष्ट्रिय घटनाक्रम अत्यन्तै भयावह मानिन्छन्, किनकि प्योङयाङले लामो समयदेखि अमेरिकाले सैन्य शक्ति प्रयोग गरेर आफ्नो शासन ढाल्न खोजिरहेको छ भन्ने गहिरो शङ्का राख्दै आएको छ । यही कारण देखाउँदै उत्तर कोरियाले दशकौँदेखि आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई अमेरिकी दबाबविरुद्धको प्रतिरक्षाका रूपमा औचित्य दिँदै आएको छ ।
हालका वर्षहरूमा उत्तर कोरियाले मिसाइल परीक्षण उल्लेखनीय रूपमा बढाएको छ । विश्लेषकहरूका अनुसार यस अभियानको उद्देश्य प्रहार क्षमतामा सुधार गर्नु, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियामाथि दबाब सिर्जना गर्नु तथा सम्भावित रूपमा रुसजस्ता मुलुकमा निर्यात गर्नुअघि हतियारहरूको परीक्षण गर्नु हो ।