काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली महामहिम राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल-यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिए ।
साथै उनले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन बिस्तारका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । यूएईको वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताए ।
दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले २०१८ मा आफुले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको आतिथ्यता नेपाली खानाले आफु मोहित भएको प्रतिक्रिया दिएको अध्यक्ष ढकालले जानकारी दिए ।