नेपालमा हरेक विध्वंश वा आन्दोलनहरु प्रायः मधेसबाट सुरु हुने भन्दै काठमाडौंले आरोप लगाउँदै आएको छ । राजनीतिक दलका नेताहरु यसलाई स्वादका साथ मसला हाल्न माहिर छन् । दसैंतिहार र छठपछि मधेसमा हिंसा भड्किने जनाउ उनीहरु दिन्छन् । काठमाडौंमा बसेर भविष्यवाणी गर्ने नेताहरुको बोली सुहाउँदो घटना शनिबार धनुषाको कमला नगरपालिकामा भयो । सानो भिडियोबाट सुरु भएको द्वन्द्व हिन्दू–मुस्लिमबीच भिडन्त निम्त्याउने खालले उग्र बन्न पुग्यो ।
खासमा मुस्लिम समुदायका युवाहरुले हिन्दू समुदायप्रति चोट पुग्नेगरी पोस्ट गरेको विषय प्रहरीसम्म पुगेको थियो । प्रहरीले ती पोस्ट गर्ने युवाहरुलाई पक्राउसमेत गरिसकेको थियो । यहीबीचमा हिन्दू युवाहरुले मस्जिदमा तोडफोड गर्नुका साथै कुरान जलाएको दुःखद् घटना बाहिरियो ।नेपाल धार्मिक सहिष्णुता भएको देश हो । यहाँ एक धर्म मान्नेलाई अर्को धर्म मान्नेले मानसम्मान गर्दै आएको छ । तर शनिबार मधेसमा त्यस्तो भएन । दुवै अतिवादी समूहले एकले अर्कोलाई बद्नाम गराउन लागि परे । जसले गर्दा आइतबार इस्लाम धर्मावलम्बीले वीरगञ्जमा प्रदर्शन गरे । उक्त प्रदर्शन यति उग्र बन्यो कि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास नै चलाउनुपर्यो ।
इस्लाम समुदायको प्रदर्शनमा हिन्दू धर्ममाथि लाञ्छना लगाएको भन्दै सोमबार हिन्दू धर्मावलम्बी प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरे । स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि प्रशासनले निषेधाज्ञा लगायो । सोही क्रममा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना प्रदर्शनकारी नियन्त्रणमा लिएका थिए । दुवै पक्षबीच हिंसा भड्किने खतरा देखिएपछि प्रशासनले मंगलबार दिउँसोसम्म निषेधाज्ञा जारी राख्यो । सर्वपक्षीय सहमतिमा दिउँसो ३ः३० मा यो क्षेत्रमा निषेधाज्ञा हटाइएको छ । राजनीतिक दल होस् या सुरक्षा संयन्त्र, मधेसमा जुनसुकै बेला हिंसा भड्किने भन्दै पूर्वानुमान गर्ने पहिलेबाटैको चलन हो । हुन पनि मधेसमा धार्मिक दंगाहरु हुँदै आएको देखिन्छ ।

आफ्नो देश, गाउँठाउँको अवस्था सुधार्न लाग्नुपर्ने समयमा युवाहरु यसरी दंगा, हिंसा भड्काउनतिर लाग्नु दुःखद् विषय हो । अतिवादमा लाग्दा केही समयलाई रमाइलो होला, तर दीर्घकालका लागि यो ठूलो घाटाको विषय हो । यस्तो कार्यले देश, समाजलाई मात्र हैन व्यक्ति आफैंलाई पनि ठूलो घाटा लाग्ने गर्छ । त्यसैले उत्तेजनामा नलागेर संयमता अपनाउनु नै उत्तम विकल्प हो । अरुको लहैलहैमा लाग्न छाडेर सहिष्णुता कायम गरौं । सर्वधर्म भनेको नै संयमता र सहिष्णुता हो । विखण्डन र अतिवादको राजनीतिलाई अन्त्य गरौं ।