- कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच तालमेल गर्ने सहमति
- सिट बाँडफाँट टुंगो, प्राविधिक पक्ष मिलाउन बाँकी
- ११ माघमा हुने निर्वाचनमा मुख्य चार दलबीच गठबन्धन हुँदा निर्वाचन प्रतिस्पर्धीविहीन बन्ने संकेत
मोटामोटी सिटबारे टुंगो त लाग्यो तर क्लस्टर र कुन दलबाट कहाँ भन्ने विषय मिलाउन बाँकी छ, यी प्राविधिक विषय मिलाएर उम्मेदवारी दर्तामा जान्छौं ।
मनिष सुमन
प्रवक्ता, जसपा नेपाल
काठमाडौं- आगामी माघमा ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा चार राजनीतिक दलबीच गठबन्धन गर्ने सहमति भएको छ । १८ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी गठबन्धन गर्ने सहमति बनेको हो ।
यो सहमतिले विघटित प्रतिनिधिसभाको पहिलो, दोस्रो, तेस्रो र सातौं ठूलो दललाई एक ठाउँ ल्याएको छ । यससँगै राष्ट्रिय सभा निर्वाचन प्रतिस्पर्धीविहीनजस्तै बन्ने देखिएको छ । यी चार दल सिट बाँडफाँट गरेर एक ठाउँ आउँदा देशको सातवटै प्रदेशमा अन्य दलका उम्मेदवारहरूले जित्ने सम्भावना रहँदैन । किनभने, प्रतिस्पर्धी दलहरू अत्यन्तै कमजोर छन् ।
यथाशक्य छिटो सबै विषय टुंगोमा पुर्याउने र उम्मेदवारी दर्ता गराउने तयारीमा छौं ।
नारायणकाजी श्रेष्ठ
नेता, नेकपा
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी प्रतिस्पर्धी दल हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थानीय र प्रदेश संसद्मा प्रतिनिधित्व छैन । यस्तोमा प्रतिस्पर्धी दलहरू कांग्रेस, एमाले, नेकपा र जसपा नेपाल राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएका हुन् । यसको अगुवाइ कांग्रेसले गरेको हो । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाले र नेकपाका नेताहरूसँग पालैपालो छलफल गरे । पछि जसपा नेपाल पनि छलफल जोडियो । अन्ततः राष्ट्रिय सभामा चार दलीय गठबन्धन बनेको हो ।
जसपा नेपालका प्रवक्ता मनिष सुमन जेन-जी विद्रोहपछिको परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने परिस्थिति निर्माण भएको र त्यसकै उपज गठबन्धन बनेको बताए । तर, सिटबारे केही प्राविधिक विषय टुंगिन बाँकी रहेको र आज उम्मेदवारी दर्ताअघि नै टुंगो लगाइने उनले बताए । ‘मोटामोटी सिटबारे टुंगो त लाग्यो तर क्लस्टर र कुन दलबाट को कहाँ भन्ने विषय मिलाउन बाँकी छ, यी प्राविधिक विषय मिलाएर उम्मेदवारी दर्तामा जान्छौं,’ प्रवक्ता सुमनले प्रभावसँग भने ।
उनका अनुसार राष्ट्रिय सभाको १८ सिटमा कांग्रेस र एमालेले समान सात-सात सिट, नेकपाले तीन र जसपाले एक सिट पाउने सहमति भएको छ । पार्टी ‘स्टे«न्थ’अनुसार कांग्रेसले आठ सिटमा दाबी गरेको थियो । नेकपा अध्यक्ष दाहालले पनि नेकपा एकीकृत समाजवादीसहितका अन्य दलहरू सम्मिलित पार्टीको नेतृत्वमा रहेका कारण आफ्नो दलको स्टे«न्थ बढेको तर्क गरेका थिए । यसपछि कांग्रेसले सात र नेकपाले तीन सिटमा चित्त बुझाउनुपर्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय सभामा एमाले कमजोर भएको भन्दै सातभन्दा तल झर्न नसकिने अडान लिएका थिए । सिट संख्याबारे सल्लाह गर्न सोमबार कांग्रेस कार्यवाहक सभापति खड्का र नेता लेखक ओलीनिवास गुण्डु पुगेका थिए ।
यसरी कांग्रेसको अगुवाइमा चार दलीय गठबन्धन बन्यो र सिट बाँडफाँट गर्यो । दलहरूले कुन प्रदेशमा कुन ‘क्लस्टर’ बाँडफाँट गर्ने भन्नेचाहिँ टुंगो लाग्न बाँकी छ । बाँडफाँट टुंगो लगाएपछि आजै उम्मेदवारी दर्ता गराउने नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘यथाशक्य छिटो सबै विषय टुंगोमा पुर्याउने र उम्मेदवारी दर्ता गराउने तयारीमा छौं,’ श्रेष्ठले भने ।
राष्ट्रिय सभाका कोशी र लुम्बिनी प्रदेशबाट तीन-तीन जना, मधेस प्रदेशबाट चार जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई-दुई जना गरी १८ जना सदस्यका लागि निर्वाचन हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले नेकपा सबैभन्दा ठूलो दल हो । यो दलका २७ जना (राष्ट्रपतिबाट मनोनीतसहित) सांसद छन् । कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनीतसहित) ११, जसपाका चार र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् ।
तर, एक जना राष्ट्रपतिबाट मनोनीतसहित १९ जनाको पदावधि सकिन लागेको छ । उनीहरूको पदावधि सकिने आगामी २१ फागुनमा हो । त्यसरी कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका आठ, मनोनीत वामदेम गौतमसहित नेकपाका नौ र जसपाका दुई जना छन् । कांग्रेसका कोही पनि सांसदको पदावधि सकिन लागेको छैन, यसले सात सिट कांग्रेसका लागि ‘बोनस’ बन्ने भएको छ । सोही दल राष्ट्रिय सभाको पहिलो दल पनि हुन सक्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ । एक्लाएक्लै चुनाव लड्दा कोशीमा एमाले र बाँकी छ प्रदेशमा कांग्रेसको मतभार धेरै छ । कांग्रेस, एमाले, नेकपा र जसपा नेपालले गठबन्धन गरी उम्मेदवारी दर्ता गर्दा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।