विराटनगर- कोशी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका हुन् ।
सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेपछि मंगलबार अपरान्ह नयाँ मन्त्रीहरूको हेरफेर भएका हुन् ।
नयाँ जिम्मेवारीस्वरुप कांग्रेसले ओखलढुंगाका प्रदीप सुनुवारको नेतृत्वमा चारजना मन्त्री र एकजना राज्यमन्त्री पठाएको छ।कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इसराइल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बनेका छन्। कांग्रेसले शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाएको छ ।
एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतो सामाजिक विकास मन्त्री बनेका छन्।
एमालेबाट उमाकान्त गौतम मुख्यमन्त्रीको कार्यालयअन्तर्गत राज्यमन्त्री बनेका छन् । सत्तारुढ दलहरूबीचको सहमति अनुसार दुई/दुई जना राज्यमन्त्री नियुक्त गरिने भएको छ ।
