काठमाडौं - काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार (पुस २२) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष आजसम्मको मापनमा यो कम तापक्रम हो ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस २१) ३.५, आइतबार (पुस २०) ४ डिग्री थियो ।मंगलबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.२ डिग्री छ ।
जुम्लाको न्यूनतम तापक्रम सोमबार र आइतबार समान –६.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । सोमबार बिहान मनाङको हुम्दे केन्द्रमा न्यूनतम तापक्रम –१० डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार डडेलधुराको न्यूनतम तापक्रम २.५, वीरेन्द्रनगरको ३.१, दिपायलको ३.४, घोराही र सिमराको समान ४.३, ओखलढुंगाको ४.६, ताप्लेजुङको ४.८, भैरहवाको ६.६ धनकुटाको ६.५, जनकपुरको ७.२, पोखरा र विराटनरको समान ८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।