काठमाडौं - नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलले स्वदेशवादी अभियान घोषणा गरेको छ । सामबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको अवधारणा र आगामी कार्यदिशाबारे जानकारी दिइएको हो ।
अभियानका संयोजक सूर्य माखिमले आगामी माघ १७ गते काठमाडौँमा स्वदेशवादी अभियानको औपचारिक घोषणा कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनले उदारवाद र माक्र्सवादजस्ता आयातीत विचारधाराले राष्ट्रको राजनीति प्रभावित बनाइरहेको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा स्वदेशवादी राजनीतिक अवस्था निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।
संयोजक माखिमले भन्नुभयो, “विदेशवादी अभियानका कारण आयातीत विचारले राजनीति सञ्चालन भइरहेको छ । त्यसलाई विस्थापन गर्दै स्वदेशी सोचमा आधारित राजनीति निर्माण गर्नु हाम्रो लक्ष्य हो ।” स्वदेशवादी अभियानले राष्ट्रको विकासमा टेवा पुर्याउनुका साथै विद्यमान समस्याबाट मुलुकलाई निकास दिने उनले विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख आचार्य डा वासुदेवकृष्ण शास्त्रीले देश राष्ट्रिय राजनीतिक सङ्कटमा परेको अवस्थामा राष्ट्रवादी जनता एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक लेखक सौरभले स्वदेशवादी अभियान राष्ट्रियहितको संरक्षण र स्वदेशी विचारको प्रवर्द्धनका लागि अघि बढाइएको स्पष्ट पार्नुभयो । उनले भने, “जब देश राष्ट्रिय राजनीतिक सङ्कटमा पर्छ, तब राष्ट्रवादी जनता एकजुट र एकताबद्ध हुनुपर्छ । अहिलेको विषम परिस्थितिबाट राष्ट्रलाई निकास दिन स्वदेशी चिन्तन र मूल्यमा आधारित राजनीति अपरिहार्य छ ।”

अभियानले राष्ट्र अहिले विषम परिस्थितिबाट गुज्रिरहेको र त्यसबाट निकास दिन स्पष्ट रणनीतिसहित अघि बढ्ने जनाएको छ । घोषणा कार्यक्रममा देशव्यापी स्वदेशीय संवाद यात्रा, पशुपति संवाद, गुरुकुल शिक्षाको पुनर्जागरणलगायत कार्यक्रम सार्वजनिक गरिने स्वदेशवादी अभियानले जानकारी दिएको छ ।