राँझा- बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरिएकाे हाे ।
क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । “हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखापरेको छैन”, उनले भने , “दुर्घटनास्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।”
राप्तीसोनारी गाउँपालिका-१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।
बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । “बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो गएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुनसक्छ”, कँडेलले भने ।