- रञ्जिता श्रेष्ठ नेकपामा, रेशमलाल चौधरी राजेन्द्र महतो र अशोक राईसँग चुनावी सहकार्यमा र लक्ष्मण थारु रास्वपा प्रवेश
- अनिश्चित बन्यो थरुहट आन्दोलनको भविष्य
काठमाडौं- थारु समुदायको राजनीतिक प्रतिनिधित्व गर्ने दाबीका साथ उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) तीन वर्ष नबित्दै अवसानतर्फ उन्मुख भएको छ । नेतृत्व तहको निरन्तर टकराव, संगठनात्मक विघटन र शीर्ष नेताहरूको अलग-अलग राजनीतिक यात्राले पार्टीलाई व्यवहारतः निष्क्रिय बनाएको हो ।
२०७९ को आमनिर्वाचनअघि गठन भएको नाउपाले पश्चिम तराईमा उल्लेखनीय प्रभाव जमाएको थियो । कैलाली र बर्दियाका स्थानीय तहदेखि प्रदेशसभा र प्रतिनिधिसभासम्म प्रतिनिधित्व हासिल गर्दै पार्टी राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको थियो । संघ र प्रदेश सरकारमासमेत उक्त पार्टीबाट मन्त्री बनेका थिए ।
तर, पार्टीको उभारसँगै सुरु भएको संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको नेतृत्व विवाद समाधान हुन सकेन । पार्टीभित्र स्पष्ट दुई गुट देखिए । विवाद पार्टी बैठकदेखि संसद् र निर्वाचन आयोगसम्म पुग्यो । एकले अर्कोेलाई कारबाही गर्ने शृंखलाले संगठनात्मक संरचना कमजोर बनायो ।
गत १३ कात्तिकमा रेशमलालले अलग्गै दल दर्ता गरेपछि नाउपा औपचारिकरूपमा विभाजित भयो । तराई-मधेस मामिलाका जानकार तुलानारायण साहको विचारमा यसले पार्टीको संगठनात्मक संरचनामा गम्भीर धक्का पु¥यायो ।
उसो त थारु समुदायका अगुवाहरूले त्यसबेला नै नाउपालाई आन्दोलनबाट विचलित भएको शक्ति भनेर आलोचना गरेका थिए । यसबीच यही ११ पुसमा रेशम-रञ्जिताबीच पार्टी एकीकरणको सम्झौता भएको थियो, जुन प्रयास असफल रह्यो । त्यसपछि रञ्जिताले आफू नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसाइन् । उनी नेकपाको समानुपातिक बन्दसूचीमा छिन् ।
यसपछि रेशमलालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग सहकार्यको बाटो रोजे । नाउपाका अर्का प्रभावशाली नेता लक्ष्मण थारु आफ्ना समर्थकसहित सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे ।
नेतृत्व तहका यी अलग-अलग निर्णयसँगै नाउपाको सांगठनिक संरचना र राजनीतिक पहिचान लगभग समाप्त भएको विश्लेषक साह बताउँछन् । ‘नाउपा एक तरिकाले भन्दा अब रहेन, यसको पार्टी संरचना र राजनीतिक पहिचान सकियो भन्दा हुन्छ,’ उनले प्रभावसँग भने । राज्यसत्ताबाट सदियौंदेखि उत्पीडिनमा परेका थारुहरूको दुखेसो आजपर्यन्त छ । त्यसकै खातिर राजनीतिक मोर्चामा संगठित शक्ति खडा गरेर संघर्ष गर्ने उनीहरूको अभिष्ट थियो ।
त्यसका लागि पृष्ठभूमि टीकापुर घटनाले बनाइदियो । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा तत्कालीन अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरहरूबीच तनाव भएको बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जनाको हत्या भयो । यो हत्या घटनामा तत्कालीन सरकारले थरुहट आन्दोलनकारीहरूलाई जिम्मेवार ठह¥यायो । आन्दोलनका नेताहरू रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायत थिए ।
त्यसबेला थारुहरूमाथि सरकारी पक्ष (सुरक्षाकर्मी)बाट दमन भयो । थारुहरूका घर जलाइए । कतिपय महिलाहरू बलात्कृत भए । मुद्दा लाग्यो । रेशमसहित थुप्रै नेता पक्राउ परे । यहीबीच २०७४ को प्रतिनिधिसभा निर्वाचन भयो । निर्वाचनमा कैलाली-१ बाट अभूतपूर्व जनमतसहित फरार रहेकै अवस्थामा रेशम निर्वाचित भए । पछि उनले प्रहरीसँग आत्मसमर्पण गरे । अनि, कैद सजाय भोग्नुपर्यो । अरु थारु आन्दोलनकारी पनि जेल पुुगे । यसलाई रेशमसहितका नेताहरूले भने, ‘थहरुट आन्दोलनलाई सरकारले अपराधीकरण गर्यो ।’
यही भावनालाई उनीहरूले राजनीतिक शक्तिमा बदल्न चाहे । अन्ततः २०७९ को चुनावअघि गठन भयो- नागरिक उन्मुुक्ति पार्टी । तर, यो दल स्थापनाको तीन वर्षमै विलुप्तको स्थितिमा पुगेको छ । नेकपा पुगेकी नेत्री रञ्जिता भने भने यो स्वीकार्न तयार छैनन् । ‘थरुहट आन्दोलन अझै जीवित छ । भोलि पनि हुने छ र कोही लाखापाखा लागे भन्दैमा आन्दोलन तलमाथि हुँदैन,’ उनले भनिन् ।
थारुहरू संविधान जारी हुनुअघि तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, पर्सालगायत जिल्लालाई थरुहट बनाउनुपर्ने भन्दै आन्दोलित थिए । तर, संविधानमा आन्दोलनको सम्बोधन भएन । यही मुद्दासमेत उठान गरेर स्थापित नाउपाका नेताहरू तीनतिर छरिँदा पार्टीको नामोनिशाना नरहने स्थितिमा पुगेको छ ।
रास्वपाको समायोजन घोषणा
नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका एक समूहसँगै कुलमान घिसिङ र बालेन्द्र साह (बालेन) समूहलाई पनि औपचारिकरूपमा समायोजन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार राजनीतिक समायोजनसभा आयोजना गर्यो ।
सभामा नाउपाका पूर्वनेता लक्ष्मण थारु, दामोदर पण्डितलगायत नेताहरू समायोजनमा देखिए । रास्वपाका सबै शीर्षस्थ नेता न थिए नै । तर, कुलमान र बालेन देखिएनन् । दुवैको हलमा खोजी भएको थियो । उनीहरूका निकटस्थहरूले खोजी गर्दै भनेका थिए, ‘खोई बालेन-कुलमान ?’
बालेनको सचिवालयका भूपदेव शाहले बालेन मेयरको हैसियतमै अहिले रहेकाले पार्टीको सार्वजनिक कार्यक्रममा तत्काल उनी सहभागी नहुने बताए । ‘अहिले उहाँ मेयर हो । राजीनामा दिनुभएको छैन,’ रास्वपा केन्द्रीय सदस्यसमेत रहेका शाहले भने, ‘त्यसो हुँदा उहाँ तत्काल पार्टीको राजनीतिक गतिविधिमा सरिक हुनुहुन्न । उहाँको चाहना पनि छैन ।’
कुलमान भने आफ्नो पक्षबाट केन्द्रीय समितिमा मनोनीत हुनेहरुको नाम नटुंगिएका कारण कार्यक्रममा नदेखिएको बताइएको छ । आइतबार सचिवालय बैठकले तत्कालीन विवेकशील साझा पार्टी र बालेन समूहबाट मात्रै केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।
सभापति लामिछानेले भने पार्टीमा बाहिर हल्ला चलेजस्तो कुनै विमति नभएको र बलियो शक्ति निर्माणको दिशामा रहेको बताए । उनले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष पनि गरे । पार्टीको समायोजन घोषणासभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा मामिलालाई प्रतिशोध भन्दै कटाक्ष गरेका हुन् ।
उनले शीर्ष नेताप्रति रिस पोख्दै भने, ‘मलाई पुर्न साढे छ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुभयो तपाईंहरूलाई नपुरी सुखै छैन ।’ उनले पुराना दलहरू एक जुट भएर रास्वपामाथि आक्रमण जारी राखेको पनि बताए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न पनि लामिछानेले आग्रह गरे ।