सिन्ह्वा- इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्तीले आइतबार टर्कीएका विदेशमन्त्री हाकान फिदानसँग टेलिफोनमार्फत संवाद गर्दै गाजामा लागू भएको युद्धविराम र विभिन्न क्षेत्रीय विषयहरूमा विचार-विमर्श गरेका छन् । यसबारे इजिप्टको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
वार्ताका क्रममा दुवै मन्त्रीले गाजा पट्टीमा देखिएको गम्भीर मानवीय अवस्थाबारे आपसी धारणा साटासाट गरेका थिए । उनीहरूले इजिप्ट, कतार, टर्कीए तथा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सम्पन्न युद्धविरामलाई थप सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् । साथै, युद्धविरामको दोस्रो चरणसँग सम्बन्धित प्रतिबद्धताहरू कार्यान्वयनतर्फ अघि बढाउनुपर्ने आवश्यकतामा पनि उनीहरूले सहमति जनाएका थिए ।
विदेशमन्त्रीद्वयले गाजामा सङ्क्रमणकालीन व्यवस्थाको सुरुआत, मानवीय सहायता निर्बाध रूपमा प्रवेश सुनिश्चित गर्नुपर्ने तथा प्रारम्भिक पुनःस्थापना र पुनर्निर्माण प्रक्रिया शीघ्र अगाडि बढाउनुपर्ने विषयमा जोड दिए ।गाजाका स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता इजरायलको सैन्य कारबाहीका कारण ७१ हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ भने एक लाख ७१ हजार दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अक्टोबर १०, २०२५ देखि लागू भएको युद्धविरामपछि पनि अक्टोबर ११, २०२५ यता कम्तीमा ४२० जनाको मृत्यु भएको र एक हजार १८० भन्दा बढी व्यक्ति घाइते भएका छन् । वार्तामा यमनको अवस्थाबारे पनि छलफल गरिएको थियो । दुवै पक्षले तनाव न्यूनीकरण र एकपक्षीय कदमको सट्टा संवाद, समझदारी र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । यसले यमनका जनताको सुरक्षा र स्थायित्वमा सकारात्मक योगदान पुर्याउने उनीहरूको धारणा रहेको छ ।
त्यसैगरी, अफ्रिकाको हर्न क्षेत्रमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्दै दुवै मन्त्रीले तथाकथित ‘सोमालिल्याण्ड’ लाई इजरायलले दिएको मान्यताप्रति असहमति व्यक्त गरे । उनीहरूले यस कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको विपरीत भएको बताउँदै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरे ।